सिरहा । नेपाली कांग्रेसका प्रभावशाली नेता विष्णु गुप्ताले कांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेको घोषणा गरेका छन्। उनले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो राजनीतिक यात्रा कांग्रेसबाट समाप्त भएको र अब रास्वपामार्फत अघि बढ्ने बताएका हुन्।

कांग्रेसमा रहँदा गुप्ताले क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि तथा जिल्ला उपसभापति जस्ता महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिसकेका थिए। पार्टीले उनलाई जिल्ला समन्वय समितिको निर्वाचनमा समेत उम्मेदवार बनाएको थियो।

पत्रकार सम्मेलनमा गुप्ताले कांग्रेसभित्र लामो समय योगदान दिए पनि पछिल्लो समय पार्टीभित्र विचार, कार्यशैली र अवसरको न्यायोचित वितरणमा असन्तुष्टि बढ्दै गएको उल्लेख गरे। उनले देशमा देखिएको वैकल्पिक राजनीतिक धारको आवश्यकता महसुस गर्दै रास्वपामा आबद्ध भएको बताए।

रास्वपाले सुशासन, पारदर्शिता र नयाँ राजनीतिक संस्कृतिको एजेन्डा बोकेको पार्टी भएकाले आफू आकर्षित भएको गुप्ताको भनाइ थियो। आगामी दिनमा जनताको पक्षमा काम गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

गुप्ताको रास्वपामा प्रवेशसँगै सिरहाको राजनीतिमा नयाँ समीकरणको संकेत देखिएको राजनीतिक स्थानीयहरु भनाइ छ। उनी निबर्तमान मन्त्री बब्लु गुप्ताका बुवा हुन ।