सिरहा— रास्वपा मधेश प्रदेशका अध्यक्ष तथा सांसद तपेश्वर यादव ले सीमावर्ती क्षेत्रमा लागू गरिएको कडाइप्रति कडा आपत्ति जनाउँदै तत्काल व्यवहारिक समाधान गर्न सरकारसँग माग गर्नुभएको छ।
अध्यक्ष यादवले सशस्त्र प्रहरी र नेपाल प्रहरीले रु. १०० भन्दा बढीको सामान ल्याउन रोक लगाएको तथा भन्सार अनिवार्य गरिएको व्यवस्थाले सर्वसाधारणलाई अनावश्यक सास्ती दिएको बताउनुभयो।
उनले नेपाल–भारतबीचको परम्परागत ‘रोटी–बेटी’ सम्बन्ध, उत्तर बिहार क्षेत्रमा काम गर्ने नेपाली श्रमिकको अवस्था तथा करिब चार दशकअघिदेखि चलिआएको प्रचलनलाई ध्यानमा राख्दै व्यवहारिक रूपमा नीति कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो। “१० जनाको गलत कामका कारण १००० जनालाई दुःख दिनु हुँदैन,” भन्दै उहाँले पूर्व गृहमन्त्री रवि लामिछाने को कार्यकालमा जस्तै स्पष्ट सीमा निर्धारण गरी सहज व्यवस्था गर्न आग्रह गर्नुभयो।
सांसद यादवले लागूऔषध नियन्त्रणमा कडाइ गर्नुपर्ने आवश्यकता औंल्याउँदै मनी लाउन्डरिङ रोक्न कडा निगरानी आवश्यक रहेको बताउनुभयो। साथै, विवाह–भोजका सामग्री ल्याउँदा सम्बन्धित वडाको सिफारिसका आधारमा सहजता दिन, कृषि सामग्री, मलखाद तथा उत्पादनमुखी वस्तुमा रोक नलगाउन पनि सरकारसँग आग्रह गर्नुभयो।
त्यसैगरी, आन्दोलनका क्रममा पक्राउ परेका जेन–जेड युवामाथि लगाइएका मुद्दा निःशर्त खारेज गर्न तथा सांसदलाई प्रमुख जिल्ला अधिकारी (CDO) र प्रहरी प्रमुख (SP) सरह अनुगमन अधिकार दिनुपर्ने विषय पनि उहाँले उठाउनुभएको छ।
मधेश तथा लुम्बिनी प्रदेशका नेताहरूको संयुक्त टोलीले गृहमन्त्री सुदन गुरुङ समक्ष सीमावर्ती समस्याको समाधान र सीमा नाका तत्काल सहज बनाउन माग गर्दै ध्यानाकर्षण गराएको बताइएको छ।




















