शिव दयाल यादब,सिरहा । जिल्ला अदालत सिरहा को आदेशले रोक्का गरिएको जग्गा मालपोत कार्यालयबाटै पास भएको घटना सार्वजनिक भएको छ। अदालतको पत्रअनुसार रोक्का रहेको जग्गा पारित भएपछि आर्थिक चलखेल भएको आशंका गरिएको छ।

के हो घटना ?

जिल्ला अदालत सिरहाको च.न. ६५५५ मिति २०८२/०८/११ गतेको पत्रअनुसार वडा नम्बर ७ स्थित कित्ता नम्बर ५०३९ को १५ धुर घरजग्गा मिर्चैयाका राजा राम यादवले पैसाको लेनदेन सम्बन्धी विवादमा रोक्का गराएका थिए। उक्त जग्गा गङ्गाबति देवी महरासँग सम्बन्धित रहेको बताइएको छ।

अदालतको आदेशपछि २०८२/०८/११ गते नै जग्गा रोक्का गरिएको थियो। सो क्रममा नासु सीताराम कार्कीले मोठमा रोक्का कायम रहेको जानकारी दिएका थिए। तर, खरेदार सत्रुधन यादवले मोठ कायम रहे पनि रोक्का नदेखिएको उल्लेख गरेका छन्।

रोक्का जग्गा कसरी पास भयो ?

उक्त जग्गा हाल सङ्गिता कुमारी रामको नाममा र. नम्बर १८९० ‘क’ बाट २०८२/०९/०६ गते पारित पास भएको पाइएको छ। जग्गा पारित प्रक्रियामा खरेदार बिरेन्द्र साहले सनाखत गरेका थिए भने नासु सिमा कुमारी यादवले पारित गराएको उल्लेख छ।

पीडितको गुनासो

रोक्का गराउने राजा राम यादवले अदालतबाट रोक्का गरिएको जग्गा नै पास भएपछि कानुनी व्यवस्थामाथि प्रश्न उठेको बताए। उनले आर्थिक चलखेलका कारण घटना भएको आरोप लगाउँदै सम्बन्धित निकायबाट निष्पक्ष छानबिन गरी दोषी कर्मचारीमाथि कारबाही गर्न माग गरेका छन्।

मालपोत प्रमुखको प्रतिक्रिया

घटनाबारे जिल्ला मालपोत कार्यालय सिरहा का प्रमुख अरबिन्द कुमार चौधरीले गल्ती भएको स्वीकार गर्दै यो नियतवश नभई भुलवश भएको दाबी गरेका छन्।

कर्मचारीमाथि थप आशंका

यसैबीच, पछिल्लो समय कार्यालयमा करार तथा सरुवाबाट आएका केही कर्मचारीले काजमा थमौती गरी आर्थिक चलखेलमा सक्रिय रहेको आरोप समेत उठेको छ।