सिरहा । सिराहा जिल्लाको समग्र सुरक्षा अवस्थालाई मजबुत बनाउन र स्थानीय तहमा शान्ति सुरक्षाको उच्च प्रत्याभूति गराउन नेपाली सेनाको नन्दबक्स गणले आफ्नो सक्रियतालाई व्यापक बनाएको छ।

जिल्लाको संवेदनशीलतालाई मध्यनजर गर्दै गणले जिल्लाका सबै स्थानीय तह र निर्वाचन क्षेत्रहरूमा सघन सुरक्षा गस्ती र विशेष अभ्यास सम्पन्न गरेको हो।

यस अभ्यासमा नेपाली सेना, स्थानीय प्रशासन, नेपाल प्रहरी (जनपद) र सशस्त्र प्रहरी बलको एकीकृत सहभागिता रहेको थियो ।

जिल्लाका चारवटै सुरक्षा क्षेत्र (क्षेत्र नं. १, २, ३ र ४) मा रहेका निर्वाचन स्थल र संवेदनशील केन्द्रहरूलाई लक्षित गरी कुल ५७ वटा वृहत् संयुक्त पट्रोल एकैसाथ परिचालन गरिएका थिए । यस अवधिमा जिल्लाका ८ वटा नगरपालिका र ९ वटा गाउँपालिका गरी कुल १७ वटै स्थानीय तहलाई समेटिएका थिए।

सुरक्षा निकायहरूले जिल्लाका १७ वटै स्थानीय तहमा निम्न विधिबाट पट्रोल सञ्चालन गरेका थिए:

पैदल गस्ती : सीमावर्ती गाउँ, दशगजा क्षेत्र र भित्री बस्तीहरूको सूक्ष्म सुरक्षा निगरानीका लागि।

सवारी गस्ती : मुख्य राजमार्ग, सीमा नाका जोड्ने सडक र बजार क्षेत्रमा द्रुत सुरक्षा उपस्थितिका लागि।

मोटरसाइकल गस्ती: छिटो छरितो आवागमन र दुर्गम सीमा क्षेत्रका सुरक्षा बिन्दुहरूमा पहुँचका लागि।

विशेष प्रदर्शन अभ्यास नियमित सुरक्षा गस्तीका साथै नन्दबक्स गणले आजै सिराहामा एक विशेष प्रदर्शन अभ्यास  समेत सफलतापूर्वक सम्पन्न गरेको छ। सम्भावित सुरक्षा जोखिमको सामना गर्न, भीड नियन्त्रण गर्न र आकस्मिक परिस्थितिमा सेनाको तयारी कस्तो रहन्छ भन्ने कुराको प्रत्यक्ष अभ्यास गरिएको हो।

स्थानीय तहमा सुरक्षाको पहुँच लहान, धनगढीमाई, सिराहा, गोलबजार, मिर्चैया, कल्याणपुर, कर्जन्हा र सुखीपुर नगरपालिका तथा भगवानपुर, बरियारपट्टी, औरही, अर्नमा, नवराजपुर लगायतका १७ वटै स्थानीय तहका संवेदनशील क्षेत्रहरूमा सेनाले आफ्नो उपस्थिति बलियो बनाएको छ।

"यस किसिमको अभ्यास र परिचालनले सुरक्षा निकायहरूबीच संयुक्त कारबाहीको क्षमता र मनोबल वृद्धि गर्ने विश्वास लिएका छौँ," नन्दबक्स गण सम्बद्ध स्रोतले भन्यो। नेपाली सेनाको यो सक्रिय नेतृत्व र सबै सुरक्षा निकायको संयुक्त परिचालनले सिराहाका स्थानीय बासिन्दाहरूमा सुरक्षाको उच्च मनोबल पैदा गर्नुका साथै सीमा क्षेत्रमा सुरक्षा सतर्कता थप कसिलो बनाएको छ।