मिथिला रत्न,सिरहा । कल्याणपुर नगरपालिका–१२ बेल्हाकट्टीमा भएको डाँका घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरि कार्यालय सिरहाले पत्रकार सम्मेलन गरि बेल्हाकट्टी बस्ने भोला महतोको घरमा ८–१० जना अपरिचित नकाबधारी व्यक्तिहरूले अनाधिकृत रूपमा प्रवेश गरी कटुवा हतियार देखाउँदै ज्यान मार्ने धम्की दिएका थिए। उनीहरूले सुनका गहना (नथिया, टिका, मंगलसूत्र, तिलहरी) करिब १ तोला, करिब ९६ तोला चाँदीका गहना, ओप्पो कम्पनीको स्क्रिन टच मोबाइल र एक थान ड्रोन क्यामेरा समेत गरी करिब ६ लाख रुपैयाँ बराबरको धनमाल लुटेर फरार भएका थिए।
डकैत समूह भाग्ने क्रममा स्थानीयले लखेट्न खोज्दा नकाबधारीहरूले अन्धाधुन्ध फायरिङ्ग गरेका थिए। गोली लागेर स्थानीय सुन्दर महतोका ४२ वर्षीय छोरा बिरेन्द्र महतोको दाहिने छातीमा र उनका २३ वर्षीय छोरा अनिल कुमार महतोको बाँया छातीमा गोली लागी गम्भीर घाइते भएका थिए ।
घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिरहा बाट प्रहरी नायव उपरीक्षक रमेश बहादुर पालको कमाण्डमा टोली खटिएर अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानका क्रममा २०८२ फागुन ६ गते दिउँसो करिब २ बजे शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिई उनीहरू बस्ने घर कोठामा कानुन बमोजिम खानतलासी गर्दा हातहतियार, गोली तथा लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्तिहरू
लहान नगरपालिका–२२ का ४९ वर्षीय लाल मोहमद अन्सारीको घरबाट करिब ३० ग्रामभन्दा बढी खैरो हेरोइन जस्तो पदार्थ, कटुवा बन्दुक र ८ एमएमका दुई राउण्ड गोली बरामद भएको।
भारत बिहार, मधुवनी जिल्ला स्थायी घर भई हाल लहान–२२ मा बस्दै आएका ४२ वर्षीय मोहमद गुलाब अन्सारीको बसोबासस्थलबाट कटुवा बन्दुक र दुई राउण्ड गोली बरामद।
लहान नगरपालिका–५ का २८ वर्षीय मो. एकवाल मियाँ (घरबाट हाल केही बरामद नभएको)।
धनुषाको विदेही नगरपालिका–४ का ३२ वर्षीय अमप्रकाश पासवान।
घटनापछि २०८२ फागुन ७ गते घाइते पक्षका तर्फबाट भोला महतोका छोरा मुकेश कुमार सिंहले पक्राउ परेका लाल मोहमद अन्सारीसहित ६ जनाविरुद्ध किटानी जाहेरी दिएका छन्।
प्रहरीले पक्राउ परेकामाथि डाँका, ज्यान मार्ने उद्योग, हातहतियार तथा खरखजाना र लागुऔषध मुद्दामा अनुसन्धान गरिरहेको जनाएको छ। जिल्ला अदालत सिरहा ले ५ दिनको म्याद थप अनुमति दिएपछि घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।




















