सिरहा । सिरहा नगरपालिकामा पछिल्लो समय जनप्रतिनिधि र कर्मचारी प्रशासनबीचको विवाद चुलिँदै गएको छ। कानुन बमोजिम कार्य सम्पादन गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृतलाई राजनीतिक तथा व्यक्तिगत प्रभाव र दबाबमा पार्न खोजिएको भन्दै स्थानीय स्तरमा आक्रोश बढ्न थालेको छ।
शाखा प्रमुखको जिम्मेवारी र दरबन्दी विवाद
नगरपालिकामा दरबन्दी बमोजिमका सिनियर स्थायी कर्मचारीहरू हुँदाहुँदै उनीहरूलाई शाखा प्रमुखको जिम्मेवारी दिनबाट रोकिएको बुझिएको छ। नगरप्रमुख तथा केही वडा अध्यक्षहरूले सिनियर कर्मचारीलाई जिम्मेवारी नदिन दबाब दिँदै आन्दोलन समेत गरिरहेका छन्। दरबन्दी अनुसारका योग्य कर्मचारीलाई पाखा लगाएर आफ्ना निकटका व्यक्तिहरूलाई स्थापित गर्न खोजिएको भन्दै जनताले यसको कारण माग गर्न थालेका छन्।
पुराना भुक्तानी र विकास निर्माणमा प्रश्न
विवादको अर्को मुख्य कडी विगत ३ वर्षदेखिको पुरानो भुक्तानीको विषय बनेको छ। स्थानीयवासीका अनुसार क्षेत्रमा कुनै ठोस विकास निर्माणका कार्यहरू भएका छैनन्। "विकास नै नभएको ठाउँमा विगत ३ वर्षदेखिको भुक्तानी किन र केका लागि गर्नुपर्यो?" भन्दै स्थानीयले प्रश्न उठाएका छन्। विना काम रकम फर्स्यौट गर्न खोजिएको आशंका गर्दै सर्वसाधारणले यस्ता शङ्कास्पद रकमहरू सरकारले जफत गर्नुपर्ने माग समेत राखेका छन्।
जनप्रतिनिधिहरूको व्यवहार र स्थानीयको आक्रोश
आन्दोलनरत केही वडा अध्यक्षहरूको व्यवहार र सञ्चारमाध्यममा उनीहरूले प्रस्तुत गर्ने अभिव्यक्तिलाई लिएर पनि गम्भीर प्रश्न उठेको छ। मिडिया र सार्वजनिक मञ्चहरूमा मर्यादित भएर बोल्न समेत नसक्ने व्यक्तिहरू कसरी वडा अध्यक्षमा निर्वाचित भए भन्दै निर्वाचन प्रक्रियामाथि नै कतिपयले आशङ्का व्यक्त गरेका छन्।
स्थानीयको आक्रोश: "यी जनप्रतिनिधिहरू जनताको र नगरको विकासभन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थ र विकासमा मात्र केन्द्रित भएका छन्। अब जनता मौन बस्नु हुँदैन, विसंगतिका विरुद्ध सजग भई यस्ता गलत प्रवृत्तिका नाइकेहरूलाई लखेट्ने बेला आएको छ।"
कर्मचारी प्रशासनलाई स्वतन्त्र रूपमा काम गर्न नदिने, पुराना शङ्कास्पद भुक्तानीका लागि दबाब दिने र सस्तो लोकप्रियताका लागि आन्दोलन गर्ने जनप्रतिनिधिहरूको रवैया विरुद्ध अहिले सिरहाका स्थानीय जनतामा तीव्र असन्तोष फैलिएको छ।




















