सिरहा । मिर्चैया नगरपालिका-११ का वडाध्यक्ष चन्द्रदिप यादव जनता समाजवादी पार्टी, नेपालमा प्रवेश भएका छन् । नेकपा एमालेबाट गत स्थानीय निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका यादव मंगलबार जसपा नेपालमा प्रवेश भएका हुन् ।

जसपा नेपालका उपाध्यक्ष एवं सिरहा ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार राजकिशोर यादवले उनलाई एक कार्यक्रमबीच स्वागत गर्दै पार्टीमा भित्र्याए । वडाध्यक्ष यादव नेकपा एमालेको मिर्चैया नगर समितिका उपाध्यक्षसमेत थिए ।

उनीसँगै नेकपा एमालेको क्षेत्रीय सदस्य सुकदेव ठाकुर, मिर्चैया-११ को एमालेको वडा समिति अध्यक्ष सियाराम मण्डल, उपाध्यक्ष ललिता माझी, सचिव रुपेश कुमार यादव, सहसचिव सुरज साह र कोषाध्यक्ष सुनिता सदासहित सिंगो कार्यसमिति नै जसपा नेपालमा प्रवेश भए ।

यस्तै, नेकपा एमालेको भातृ संगठन मुक्ति समाज मिर्चैया ११ का अध्यक्ष चन्द्र सदाय, उपाध्यक्ष कुसबा सदासहित झन्डै दुई सय नेता कार्यकर्ता पनि जसपा नेपालमा प्रवेश भएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य उम्मेदवार राजकिशोर यादवले मधेश र देशको उन्नतिको एक मात्र विकल्प अब जसपा नेपाल नै रहेको बताए । कार्यक्रममा जसपा नेता सुरेश मण्डल, रामकुमार मण्डल, रामदयाललगायत सहभागी थिए ।