सिरहा | तराई-मधेशमा बढ्दो शीतलहर र अत्यधिक चिसोका कारण जनजीवन कष्टकर बन्दै गएपछि नेपाली सेनाले सिरहाका विभिन्न स्थानमा मानवीय सहयोग सुरु गरेको छ।
बाक्लो हुस्सु र कुहिरोसँगै चलेको चिसो हावाका कारण सर्वसाधारण घरबाहिर निस्कन नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै नेपाली सेनाको श्री नन्दाबक्स गणले दाउरा वितरण गरी आगो ताप्ने व्यवस्था मिलाएको हो।
सेनाले सर्वसाधारण र यात्रुहरूको बढी आवतजावत हुने प्रमुख चोकहरूलाई लक्षित गरी दाउरा उपलब्ध गराएको छ। जसअन्तर्गत:
मिर्चैया नगरपालिकाका विभिन्न स्थानहरू
नरहा गाउँपालिका–३ स्थित पुरानो चोहर्वा चोक
गोलबजार नगरपालिकाका प्रमुख चोकहरू
विष्णुपुर गाउँपालिका–१ का सार्वजनिक स्थलहरू
अत्यधिक चिसोले गर्दा बजार, पसल र दैनिक ज्यालादारी गर्ने मजदुरहरू मारमा परेका बेला सेनाले गरेको यो कार्यको स्थानीयले प्रशंसा गरेका छन्। चोक-चोकमा आगो बालेपछि सडकमा हिँड्ने यात्रु, स्थानीय व्यापारी र विपन्न परिवारलाई न्यानो महसुस भएको छ।
नन्दाबक्स गणका अनुसार, नागरिक-सैनिक सम्बन्धलाई प्रगाढ बनाउन र संकटको समयमा जनतालाई प्रत्यक्ष राहत पुर्याउन यो कदम चालिएको हो। तराईका जिल्लाहरूमा तापक्रम ह्वात्तै घटेकाले चिसोबाट हुने स्वास्थ्य जोखिम कम गर्न सेनाले यस्तो सक्रियता देखाएको हो।




















