मिथिला रत्न,सिरहा । कमला सिंचाइ पूर्वी नहर प्रणाली अन्तर्गत कमला नहर पदाधिकारी निर्वाचन सिँचाइ ऐन र नियमावलीविपरीत लुकिछिपि गरिएको आरोप लागेको छ ।
आइतबार सिरहाको सुखिपुरस्थित उद्योग वाणिज्य संघको भवनमा सम्पन्न पदाधिकारी निर्वाचन सिँचाइ ऐन, २०४९ तथा सिँचाइ नियमावली, २०५६ बमोजिम नभएको भन्दै जल उपभोक्ता साधारण सदस्य किसानहरूले आपत्ति जनाएका छन् । निर्वाचन प्रक्रिया मिचिएको र सूचना नै नदिई गोप्य रूपमा चुनाव गरिएको आरोप लगाउँदै करिब दुई दर्जन किसानहरूले जिल्ला प्रशासन कार्यालय, सिरहामा उजुरी दर्ता गरी उक्त निर्वाचनलाई वैधता नदिन प्रमुख जिल्ला अधिकारीसमक्ष माग गरेका छन् ।
यस विषयमा प्रमुख जिल्ला अधिकारी सरेन्द्र पौडेलले कमला सिंचाइ व्यवस्थापन कार्यालय पोर्ताहासँग निर्वाचन कानुनअनुसार भएको वा नभएको यथार्थ विवरण माग गरिएको जानकारी दिए पनि हालसम्म कुनै लिखित वा मौखिक जवाफ नआएको बताएका छन् ।
स्थानीय किसानहरूका अनुसार राम उदगार यादवलाई अध्यक्ष बनाउँदै गरिएको निर्वाचन प्रक्रिया आफूहरूलाई स्वीकार्य छैन भने एक स्थानीय किसान तथा साधारण सभा सदस्य शुभेश्वर यादवले किसानहरूलाई जानकारी नै नदिई चोरबाटोबाट चुनाव गरिएकामा गम्भीर चिन्ता व्यक्त गरे ।
उनले चुनाव हुनुभन्दा एक दिन अगाडि मात्रै जानकारी पाएको र त्यसपछि पोर्ताहा कार्यालय पुगेर बुझ्दा कार्यालय प्रमुखसमेत अनभिज्ञ रहेको बताए ।
कमला सिंचाइ व्यवस्थापन कार्यालयका प्रमुख रणधिर कुमार साहले शुक्रबार मात्रै निर्वाचन हुँदैछ भन्ने जानकारी पाएको भन्दै विषयबारे बुझिरहेको प्रतिक्रिया दिएका छन् ।
कानुनविद्हरूका अनुसार सम्बन्धित कार्यालयको प्रतिनिधि बिना, निर्वाचन गराउने समितिको म्यादसमेत सकिएको अवस्थामा गरिएको यस्तो निर्वाचनलाई वैध मान्न सकिँदैन, जबकि सिँचाइ निर्वाचन नियमावलीले सम्बन्धित कार्यालयको प्रत्यक्ष निगरानीमा, सिँचाइ डिभिजन प्रमुखको संयोजकत्वमा दुईदेखि तीन सदस्यीय निर्वाचन समिति गठन गरी निष्पक्ष र पारदर्शी रूपमा निर्वाचन गर्नुपर्ने स्पष्ट प्रावधान गरेको छ ।
मतदान अधिकारबाट वञ्चित साधारण सदस्य किसानहरूको व्यापक गुनासोबीच यसरी विधि प्रक्रिया मिचेर चयन भएका अध्यक्ष यादवले समेत आफूले नेतृत्व गरेको समिति भंग हुन सक्ने स्वीकारोक्ति दिएको बताइएको छ ।




















