सिरहा । सापटी, अर्थात् भैपरि आएको खण्डमा फिर्ता गर्ने गरी कसैसँग लिइने आर्थिक सहयोग । समाजलाई चलायमान बनाइराख्ने एक महत्त्वपूर्ण सामाजिक परम्परा पनि हो यो । तर, समाजमै रहेका केही गलत प्रवृतिका मानिसका कारण यो सुन्दर परम्परा बदनाम बनेको छ ।
समाजमा रहेका केही ठग र जालसाज प्रवृत्तिका मानिसका कारण खासगरी सापटी नै नपाउने अवस्था सिर्जना भएको छ । समाजमा यस्ता थुप्रै पात्र छन् । जसमध्ये एक हुन्, सिरहाको मिर्चैया नगरपालिका-६, मिर्चैयास्थित मटियर्वा चोकका जिमी यादव पनि ।
जिमीले जरुरी काम परेपछि २०७८ चैत १५ मा कल्याणपुर नगरपालिका-९ का जितन यादवसँग ३ लाख रुपैयाँ सापटी लिए । सापटी लिँदा उनले २-३ महिनामै रकम फिर्ता गरिदिने बाचा गरेका थिए । उनले यसरी बाचा गरेर सापटी लिएको साढे ३ वर्षभन्दा बेसी भइसक्यो ।
तर, यति लामो समय हुँदा पनि जिमीले रकम फिर्ता गर्ने छाँटकाँट छैन । जिमीले पटक-पटक समय लिएर ढाँट्ने काम मात्रै गरेको र यसले आफूलाई साह्रै मर्का परेको जितनले बताए । जिमीले मिर्चैयामा निजी विद्यालय सञ्चालन गर्छन्, जुन गुणस्तरहीन शिक्षा र अव्यवस्थित भएका कारण विवादित पनि छ ।
आफूलाई जिमीले यही विद्यालय देखाएर झुक्यानमा पारेको जितनको भनाइ छ । 'विद्यालय चलाउँछन्, राम्रै मान्छे होला भनेर पैसा दिएँ,' जितनले भने, 'तर, यो विद्यालय उनको ठगी खाने भाँडो रहेछ, म साह्रै समस्यामा परेँ ।'
जितनका अनुसार, जिमीले यसैगरी अन्य थुप्रै जनासँग पनि सापटी भनेर लिएको पैसा फिर्ता गरिरहेका छैनन् । यता, जिमीले भने आफूले पैसा लिएको स्वीकार गरे पनि यसलाई ठगी भन्न नमिल्ने बताए । आफूले मिटरब्याजको उजुरी पनि हालेको उनको दाबी छ ।




















