सिरहा, कात्तिक १२ — जेन्जी आन्दोलनका घाइते तथा सहिद परिवारको समस्या समाधानका लागि छिट्टै विशेष आयोग गठन गरिने जेन्जीका नेता शिव यादवले बताएका छन्।
बुधबार बिष्णुपुर–३ निवासी आन्दोलनका घाइते कृष्णा यादवलाई भेट्न पुगेका नेता यादवले सन्चारकर्मीहरूसँग कुरा गर्दै भने,
“आन्दोलनमा घाइते र सहिद परिवारले वर्षौंदेखि भोग्दै आएको पीडा अब राज्यले सुन्नु पर्ने बेला आएको छ। त्यसैले राष्ट्रपतिसँग भएको पहिलो चरणको वार्तामै आयोग गठनको माग प्रमुख एजेन्डा बनाएका छौं।”
उनका अनुसार उक्त आयोगले देशभरका जेन्जी आन्दोलनका घाइते, सहिद परिवार र प्रभावित व्यक्तिहरूको वास्तविक अवस्था नजिकबाट अध्ययन गरी राहत, पुनर्स्थापना र सम्मानका लागि ठोस सुझाव पेश गर्नेछ।
नेता यादवले घाइते कृष्णा यादवको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उपचारमा आवश्यक सहयोगका लागि प्रतिबद्धता पनि जनाए। उनले भने,
“जेन्जी आन्दोलन कुनै व्यक्तिगत आन्दोलन होइन, यो अधिकार, समानता र स्वाभिमानको आन्दोलन हो। त्यसका योद्धा र परिवारको सम्मान गर्नु हाम्रो कर्तव्य हो।”
यादवले आगामी चरणमा घाइते र सहिद परिवारका सदस्यलाई आत्मनिर्भर बनाउन शिक्षा, रोजगार र स्वास्थ्य सुरक्षाका विषयलाई पनि प्राथमिकतामा राखिने बताए।




















