सिरहा । तराईको विभिन्न जिल्लामा सशस्त्र प्रहरी बल नेपालका घुमुवाहरुले आर्थिक आतंक मच्चाएका छन् ।

मधेस प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सप्तरी र सिरहा जिल्लाको विभिन्न नाकाहरुमा सादा पोसाकमा खटि व्यापारीहरुसँग भेटी रकम असुल्दै आएको सूचना प्राप्त भएको छ ।

सशस्त्र प्रहरी बल मधेश प्रदेश बाहिनी र सशस्त्र प्रहरी बल हेडक्वार्टरको नाममा सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी हवल्दार रोशन मिश्रा, राजीव यादव, रविकान्त मिश्रा र प्रहरी सहायक हवल्दार गगन देव साहले विभिन्न नाकाहरुमा सादा पोशाकमा खटि तस्करी गराउन बापत लाखौं रुपैयाँ असुल्दै आएका छन् ।

सशस्त्र प्रहरी बल नेपालका प्रमुख एवम महानिरीक्षक (आईजीपी) राजु आर्यलले पद सम्हाल्नासाथ ३ सय घुमुवालाई तराईको जिल्लाबाट घुमुवा तान्ने अप्रेशन चलाएका थिए । अर्यालले सादा पोशाकमा कुनै पनि सशस्त्र प्रहरीलाई घुमुवा नखटाउन लागू निर्देशन दिएका थिए ।

तर, सशस्त्र प्रहरीका मिश्रा र यादव, साहले सशस्त्र मुख्यालयले खटाएको हो भन्दै विभिन्न नाकामा तस्करी गराए बापत आईजीपी अर्यालको नाममा ठूलो रकम असुल्दै आएका छन् ।

उनीहरुले सशस्त्र प्रहरी गुल्म, बिओपी र वेसमा पुगी हाकिमहरुसँग समन्वय गरि आईजीपी अर्यालको नाम भजाउँदै तस्करी लाईन खुल्ला गराए बापत लाखौं रुपैयाँ असुली गरेको बताइन्छ ।

यस्तै सई ज्ञानेन्द्र आलेमगरले आईजीपी अर्यालको नाममा पनि मधेसमा आतंक नै मच्चाएका छन् ।

पर्साको आईसीपी र बाराको बरैनिया बिओपीको इन्चार्ज बसिसकेका आलेमगरको व्यापारीहरुसँग पुरानो सम्बन्ध रहेकाले आईजीपी अर्यालको नाममा रकम समेत उठाउँदै आएका हुन् ।

त्यतिमात्र नभएर उनी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका पिएसोसमेत बसेका थिए । यस विषयमा सई आलेले आफू सादा पोसाकमा नरहेको बताए । आफूले आईजीपी साबको नाम भजाएर पैसा उठाउने नगरेको दावी गरे ।

यस्तै हवल्दार मिश्रा र यादव तत्कालिन बागमति प्रदेशका बाहिनीपति रहेका गणेश ठाडामगरका घुमुवा बसेका थिए । त्यतिबेला उनीहरुलाई अहिलेका आईजी अर्यालले नै गुनासो बढी आएको भन्दै सशस्त्र मुख्यालय तानेका थिए । तर, अहिले उनीहरु आईजीपी अर्यालको नाममा आतंक मच्चाइरहेका छन् ।

यस विषयमा रोशन मिश्राले बारामा आफुहरुको नाममा कसैले पैसा उठाइरहेको बताए । उनले भने, ‘हो मेरो नाममा कसैले पैसा उठाइरहेको खबर सुन्नमा आएको छ । त्यसमा कसले उठाइरहेको छ त्यो खोज्दैछु । तर, मैले चाहिँ उठाएको छैन् ।’

सशस्त्र प्रहरी हवल्दार गगनदेव साह पहिला बारा जिल्लामा पत्रकारको नाममा पैसा असुल्ने क्रममा पक्राउ परेका थिए । त्यसपछि केही समय उनी निलम्बनमा परेका थिए । पछि निलम्बन फुकुवा भयो । अहिले फेरी उनै साह आईजीपी अर्यालको नाम भजाउँदै मधेसमा तस्करको लाइन खुलाउन लागिपरेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल एउटा अब्बल संगठनको रुपमा चिनिए पनि घुमुवाको चन्दा आतंकले मधेसमा सशस्त्र प्रहरी संगठनप्रतिको विश्वास र लोकप्रियता गुम्दै गएको स्थानीयले आरोप लगाउन थालेका छन् ।

{रौतहटको चिनी तस्करी काण्डमा समेत उनीहरुको संलग्नता रहेको खुलेको छ । घुमुवाहरुको चलखेलले डिएसपीमाथि कारबाही भएको बताइन्छ । यस विषयमा थप रिपोर्ट अर्को श्रृंखलामा ।}