सिरहा । सिरहा नगरपालिका नगरप्रमुख डा. नविन यादवद्वारा सञ्चारकर्मीहरुप्रति दिइएको धम्कीपूर्ण अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघले कडा आपत्ति जनाएको छ।
२०८२ साल जेठ १२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिरहा नगरपालिकामा विभिन्न फाइलहरूको छानबिन गरेको विषयमा समाचार सम्प्रेषण गर्नु पत्रकारको पेशागत दायित्व भएको महासंघले स्पष्ट पारेको छ। सो समाचारप्रति असन्तुष्टि जनाउँदै नगरप्रमुख यादवले पत्रकार र सञ्चारमाध्यमलाई चेतावनी दिने तथा कारबाहीको धम्की दिने कार्य प्रेस स्वतन्त्रताको गम्भीर उल्लङ्घन भएको महासंघको भनाइ छ।
महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नगरप्रमुख यादवको यस्तो अभिव्यक्ति र व्यवहार लोकतान्त्रिक मूल्य मान्यताको अपमान हो। यसले प्रेस स्वतन्त्रतामाथि दमन गर्ने दुस्साहसिक प्रयासको सङ्केत गर्दछ, जुन कुनै हालतमा स्वीकार्य छैन।”
महासंघले सत्य र निष्पक्ष समाचार लेखनमा अवरोध सिर्जना गर्ने कुनै पनि प्रयासको प्रतिवाद गरिने स्पष्ट पारेको छ। साथै, सबै तहका सरकारी निकाय र जनप्रतिनिधिलाई प्रेस स्वतन्त्रताको सम्मान गर्न तथा पत्रकारलाई सुरक्षित वातावरणमा काम गर्न दिने वातावरण निर्माण गर्न आग्रह गरिएको छ।
महासंघले उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गर्दै सम्पूर्ण सञ्चारकर्मीलाई सचेत र एकजुट रहन आह्वान गरेको छ।




















