सिरहा, १० जेठ — विष्णुपुर गाउँपालिकाले गत आर्थिक वर्षमा गरिएको रु. २१ लाखभन्दा बढीको खानेपानी ट्युवेल खरिद तथा जडान प्रक्रियामा ठूला अनियमितता देखिएको छ। सिलबन्दी दरभाउपत्रमार्फत गरिएको ट्युवेल खरिद तथा उपभोक्ता समिति गठन प्रक्रियामा अभिलेख अभाव, लाभग्राही छनोटको अस्पष्टता, र निजी स्वार्थमा केन्द्रित वितरणले योजनाको पारदर्शिता र सार्वजनिक हितमाथि गम्भीर प्रश्न उठाएको हो।
पालिकाले तयार पारेको कार्यसम्पन्न प्रतिवेदनमा ट्युवेलको ठेगाना सूचक GPS कोड समावेश नगरिएको पाइएको छ। यसले निगरानी तथा सार्वजनिक अनुगमनमा बाधा पुर्याउने देखिएको छ।
योजना अन्तर्गत जडान गरिएका अधिकांश ट्युवेल निजी स्वामित्वको जग्गामा स्थापना गरिएको पाइयो। निर्माण व्यवसायी र उपभोक्ता समितिले सार्वजनिक प्रयोगभन्दा पनि निजी लाभमा केन्द्रित वितरण गरेको देखिँदा योजनाको उद्देश्य नै संशयास्पद देखिएको माहालेखा परिक्षण प्रतिबेदनमा उल्लेख छन ।
लाभग्राही छनोट गर्दा कुनै मापदण्ड वा निर्णय अभिलेख नपेस गरिनुले छनोट प्रक्रिया नै अनियमित भएको पुष्टि गर्दछ। दोहोरो लाभग्राहीसमेत पहिचान गर्न नसकिने अवस्था देखिएको छ।
सम्बन्धित बिलमा संलग्न गरिएका केही फोटोहरू पहिल्यै जडान भइसकेको ट्युवेलका रहेको प्रमाण भेटिएको छ। पालिकाले त्यसको पुष्टि नगरी भुक्तानी दिएको देखिँदा योजना कार्यान्वयन नै संदेहास्पद बन्न पुगेको उल्लेख छन ।




















