सिरहा । पत्रकारको नाममा बढ्दो अवैध र अनैतिक क्रियाकलापप्रति नेपाल पत्रकार महासंघ सिरहा शाखाले गम्भीर आपत्ति जनाएको छ।
महासंघका अध्यक्ष मनोज बनैताले आज एक विज्ञप्ति जारी गर्दै गैरपत्रकार व्यक्तिहरूले पत्रकारको परिचय दिई विभिन्न सरकारी तथा गैरसरकारी निकायमा धाकधम्की दिने, आर्थिक बार्गेनिङ गर्ने, र जबरजस्ती पत्रकार सम्मेलन गराउनेजस्ता गतिविधि गरेको गुनासो प्राप्त भएको जानकारी दिएका छन्।
विज्ञप्तिमा भनिएको छ, “केही व्यक्तिहरूले आफू महासंघसँग आबद्ध भएको झूठो दाबी गर्दै महासंघका कार्यसमिति सदस्यहरू आफ्नो दाइ, काका वा मामा भएको भन्दै सामाजिक भ्रम फैलाइरहेका छन्, जुन अत्यन्त निन्दनीय र गैरकानुनी कार्य हो।”
महासंघले यस्ता गतिविधिले पत्रकारिता क्षेत्रको मर्यादा र विश्वसनीयतामाथि आघात पु-याएको भन्दै सम्बन्धित सबैलाई सजग र सचेत रहन आग्रह गरेको छ। साथै, यस्ता गलत कार्यमा संलग्न व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याइने स्पष्ट प्रतिबद्धता पनि जनाएको छ।
विज्ञप्तिमा यस्ता हर्कत देखिएमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल पत्रकार महासंघ सिरहा शाखालाई जानकारी गराउन अपिल गरिएको छ।




















