सिरहा । सिरहाको लाहान नगरपालिकाका मेयर महेश चौधरीले खुट्टी खोलाको नहरलाई सौर्न्दर्यिकरणको नाममा भूमाफियाको मिलोमतोमा जनविरोधी कार्य गरेको भन्दै पालिकाविरुद्ध आन्दोलन चर्किएको छ।
मेयर चौधरीले किसानको मागलाई बेवास्ता गरि र्भूमाफियासँगको साँठगाँठमा किसान र अदालतको आदेश विपरित लाहानको ऐतिहासिक खुट्टी नहरलाई ढलमा परिणत गर्ने निर्णयविरुद्ध किसानहरुले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको हो ।
मेयर महेश प्रसाद चौधरीले स्थानीय किसान मजदुर र नगरबासीका समस्या समाधान गर्न बारम्बार बेवास्ता गरेकोले पीडित किसान आन्दोलित भएका छन्। लामो समयदेखि आन्दोलित किसानले माघ २ गते नगरपालिकामा ज्ञापनपत्र समेत बुझाउँदा पनि नगर प्रमुख चौधरीले कुनै ठोस कदम नचालेको भन्दै किसान संघर्ष समितिले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन्।
आन्दोलित किसानले मेयर चौधरीलाई २०७९ देखि पटकपटक ज्ञापनपत्र बुझाउँदा र सहमति गर्दै आएको प्रतिबद्धता उल्लंघन गरेको किसान संघर्ष समितिका संयोजक अजय चौधरीले जनाएको छ। उनले भने, ‘पटक–पटक ज्ञापनपत्र बुझाइए पनि, खुल्ला नहरका संरचना नष्ट गरी मेयरले भूमाफियासँग मोटो रकम (घुस) लिएर बजार शौन्दर्यकरणको नाममा नहर पुर्ने दुष्प्रयास कदापी मान्य हुँदैन।’
किसान संघर्ष समितिका प्रतिनिधि हेमन्त यादव भन्छन्, ‘हामीले पटकपटक वार्ता र सहमतिमा जाने प्रयास गर्यौं। तर, मेयरले हाम्रो मागलाई बेवास्ता गर्दै आएका छन्। उनले थपे, ‘किसानहरूको हकविपरीत जनघाति निर्णय विरुद्ध किसान सडकमा ओर्लिसके छ। किसानहरुले खुट्टी नहरको संरचनाको रक्षा, भूमाफियाविरुद्ध कारबाही, र किसान मजदुरको हितमा काम नगरे सम्म हाम्रो आन्दोलन जारी रहने छ। हामी किसानहरुको न्यायका पक्षमा डटिरहेका छौं र निरन्तर संघर्ष गर्दै जानेछौं।’
अदालतले खुटी नहर नमासिने गरी नहर सौन्दर्यीकरणको कार्य अगाडी बढाउन आदेश दिएपनि नगरपालिकाले नहरलाई ढलमा परिणत गर्न प्रशासनको दुरुपयोग गर्दै प्रहरी परिचालन गरेका संघर्ष समितिले आरोप लगाएको छ ।
खुटी नहर निर्माण स्थलमा नेपाल प्रहरी शसस्त्र प्रहरी र नगरप्रहरी ठूलो संख्यामा परिचालन गरी मेयर चौधरीले किसानको अहितमा काम गर्न खोजिएको स्थानिय किसानहरुको भनाई छ ।
यता लाहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीसँग आन्दोलनको विषयमा पटक–पटक सम्पर्क गर्न खोज्दा नगरप्रमुख चौधरीले फोन उठाएनन्।
नगरप्रमुख विरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गरि
घोषित कार्यक्रम मध्ये बुधबार ९ गते जिल्ला प्रशासन कार्यलय र जिल्ला उद्योग बाणिज्य संघमा ध्यानाकर्षण पत्र बुझाउने । बिहीबार १० गते लाहान नगरपालिका अगाडी १० बजे बिहान देखि बेलुका ४ बजे सम्म धर्ना बस्ने कार्यक्रम रहेको किसान संघर्ष समितिले जनाएको छ। त्यसैगरी ११ गते शुक्रबार साँझ मेयर महेश चौधरीको पुत्ला दहन गर्ने र १२ गते शनिवार बिशाल जनशक्ति प्रदर्शन र चक्का जाम गर्ने जनाइएको छ ।




















