सिरहा । नेपाली सेनाको श्री नं. २७ वाहिनी अड्डाको प्राङ्गणमा “३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०८२” विभिन्न कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ ।

आधुनिक नेपालका निर्माता श्री ५ वडामहाराजा पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले प्रत्येक वर्ष पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइने गरिन्छ । यस दिवसले राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र एकताको महत्वलाई उजागर गर्दै आएको छ ।

कार्यक्रममा नेपाली सेनामा भर्ना छनौट प्रक्रिया सम्बन्धी संक्षिप्त जानकारी प्रस्तुत गरिएको थियो भने सप्तरी जिल्लाबाट आएका श्री बरख गणद्वारा नेपाली सेनाका विविध गतिविधिहरू झल्काउने आकर्षक फोटो प्रदर्शनी गरिएको थियो । साथै, चोहर्वा ब्यारेकमा तैनाथ श्री नन्दाबक्स गणले सर्पदंश सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो ।

नेपाली सेनाका व्यारेकहरूमा प्रत्येक वर्ष विशेष महत्वका साथ मनाइने यस दिवसअन्तर्गत श्री नं. २७ वाहिनी अड्डाले आयोजना गरेको कार्यक्रम विशेष आकर्षणको केन्द्र बनेको थियो । सिरहा जिल्लाका विभिन्न विद्यालयका करिब १५० जना छात्र–छात्राको सहभागितामा सम्पन्न कार्यक्रममा पृथ्वीनारायण शाहको राष्ट्रप्रतिको योगदान र राष्ट्र निर्माणमा उहाँको भूमिकामाथि केन्द्रित गतिविधिहरू सञ्चालन गरिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि श्री नं. २७ वाहिनीपति सहायक रथी नारायण बहादुर थापाले राष्ट्रनिर्माताको स्मरणसँगै युवापुस्तामा देशप्रेमको भावना जागृत गराउनु नै कार्यक्रमको प्रमुख उद्देश्य रहेको बताउनुभयो । उहाँले बालबालिकामा देशप्रेम र राष्ट्रिय दायित्वको भावना विकास गर्न इतिहासको ज्ञान अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै यसका लागि नेपाली सेनाले देशभरका विद्यालयहरूसँग सहकार्य गरी कक्षा तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।

कार्यक्रमको अर्को आकर्षण विभिन्न विद्यालयका विद्यार्थीहरूबीच सम्पन्न “राष्ट्र निर्माणमा पृथ्वी नारायण शाहको भूमिका” विषयक वक्तृत्वकला प्रतियोगिता रहेको थियो । प्रतियोगितामा सहभागी सबै विद्यार्थीलाई कदरस्वरूप चिनो वितरण गरिएको थियो भने उत्कृष्ट ठहरिएका श्री स्वस्तिक पाठशालाका छात्र तेजस सिंहलाई सहायक रथी थापाले Brigade Memento प्रदान गर्नुभयो ।

कार्यक्रमले पृथ्वीनारायण शाहको योगदानलाई स्मरण गर्दै युवा पुस्तामा राष्ट्रप्रेम, एकता र जिम्मेवारीको भावना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन् ।