मिथिला रत्न,सिरहा । नेपाल विद्यार्थी संघ, सिरहाका उपसभापति जितेन्द्र यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । समाचार लेखेका कारण पत्रकारलाई गालीगलौज गरेको आरोपमा उनी प्रहरी नियन्त्रणमा परेका हुन् ।
कान्तिपुर मिडिया ग्रुपका सिरहाका पत्रकार विनय आजादलाई जितेन्द्रले सामाजिक सञ्जाल फेकबुकमार्फत् गालीगलौज गरेका थिए । उनलाई सोमबार दिउँसो नियन्त्रणमा लिइएका उनलाई साँझ भने छाडिएको छ ।
सिरहाका प्रहरी प्रमुख एसपी अनन्तराम शर्माका अनुसार, गलती स्वीकार गर्दै आइन्दा यस्तो नगर्ने बाचा गरेपछि उनलाई कागज गराएर जमानीमा छाडिएको हो । समाचारमा असन्तुष्टि भए गुनासो गर्ने निकाय हुँदाहुँदै व्यक्तिगत मानहानीमा उत्रने काम गलत भएको र अबदेखि यस्तो गरे मुद्दा चल्ने उनले बताए ।
नेपाली कांग्रेस सिरहाले जनवरी १ मा धनगढीमाई नगरपालिकाको सरेअम्बासमा वनभोज कार्यक्रम आयोजना गरेको थियो । कांग्रेसका सिरहा सभापति रामचन्द्र यादवको अगुवाइ भएको यो वनभोज विवादित बन्न पुग्यो ।
वनभोजमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ हेलिकप्टरमा आएका थिए भने मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव सरकारी गाडीमा आएका थिए । यस्तै, वनभोजमा नेतालाई मटन र सर्वसाधारणलाई चिकेन खुवाइएको थियो ।
यसै विषयमा पत्रकार आजादले समाचार लेखेका थिए । आजादलाई गाली गर्ने जितेन्द्र कांग्रेसका सिरहा सभापति रामचन्द्र यादवका आफन्त हुन् ।




















