सिरहा । सिरहाको धनगढीमाई नगरपालिका–१४ स्थित सर्रेअम्बासमा नेपाली कांग्रेस सिरहाले बिहीबार आयोजना गरेको वनभोज कार्यक्रम तडकभडक, भेदभाव र सरकारी स्रोतको दुरुपयोगको आरोप विवादित बनेको छ ।
अंग्रेजी नयाँ वर्षको अवसर पारेर जिल्ला सभापति रामचन्द्र यादवको अगुवाइमा आयोजित उक्त वनभोज कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवसहित उच्च तहका नेताहरू सहभागी भएका थिए। मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री जंगीलाल राय पनि कार्यक्रममा उपस्थित थिए।
मुख्यमन्त्री यादव र मन्त्री राय सरकारी सवारीसाधन प्रयोग गरी स्थलमार्ग हुँदै कार्यक्रममा पुगेका थिए भने बागमती प्रदेशका मुख्यमन्त्री बानियाँ भने हेलिकप्टरमार्फत हवाइमार्ग हुँदै वनभोज स्थल पुगेका थिए। वनभोजजस्तो अनौपचारिक कार्यक्रमका लागि सरकारी सवारी र हेलिकप्टर प्रयोग गरिएको भन्दै चौतर्फी आलोचना भइरहेको छ।
वनभोजमा सहभागीहरूबीच खानपानमै भेदभाव गरिएको तथ्य पनि बाहिर आएको छ। कार्यक्रममा सहभागी नेता तथा भीआईपीलाई मटन र सर्वसाधारण तथा कार्यकर्तालाई चिकेन खुवाइएको पाइएको हो। कांग्रेसका जिल्ला सहसचिव रामबाबु यादवले यसलाई स्वीकार गर्दै नेतालाई मटन र सर्वसाधारणलाई चिकेन छुट्याएर खुवाइएको बताएका छन्।
उनका अनुसार शाकाहारी सहभागीहरूलाई भने दही र आलु–गोबीको तरकारी व्यवस्था गरिएको थियो। “चिकेन धेरै नै खपत भयो, मटन त्यति भएन। मटन नेता र भीआईपीका लागि मात्रै थियो,” उनले कान्तिपुरसँग भनेका छन्।
वनभोजमा करिब तीनदेखि चार हजार नेता–कार्यकर्ता सहभागी भएको र सुरुआती योजनाअनुसार करिब दस हजारसम्म सहभागी गराउने तयारी गरिएको सहसचिव यादवले बताए। खाना पकाइरहेका भान्सेहरूका अनुसार कार्यक्रममा करिब एक हजार किलो चिकेन र तीन सय किलो मटन पकाइएको थियो।
तर कांग्रेस सिरहाका सभापति रामचन्द्र यादवले भने वनभोजमा कुनै पनि प्रकारको भेदभाव नभएको दाबी गरेका छन्। उनले कार्यक्रममा कुनै तडकभडक नभएको र कुल खर्च २०–२५ हजार रुपैयाँ मात्रै भएको बताएका छन्।
“कुनै भेदभाव भएको होइन, सबैले सबै कुरा खाएका हुन्,” उनले भने, “कुन चिज कति खपत भयो भन्ने हिसाब अहिले छैन, हिसाबकिताब गर्न बाँकी छ। खर्च पनि २०–२५ हजारमै सीमित छ।”
यद्यपि, नेताका दाबी र प्रत्यक्ष देखिएका तथ्यबीच ठूलो अन्तर देखिएपछि वनभोजको नाममा गरिएको तडकभडक, खानपानको वर्गीकरण र सरकारी सवारीसाधनको दुरुपयोगबारे गम्भीर प्रश्नहरू उठेका छन्।




















