मिथिला रत्न,सिरहा । सिरहा नगरपालिकाले अस्थायी तथा करार सेवामा कार्यरत कर्मचारीहरूको सेवा सम्झौता रद्द गर्ने निर्णय गरेपछि नगरका नियमित कामकाज प्रभावित नहोस् भन्ने उद्देश्यले कर्मचारीहरूलाई थप कामकाज तथा जिम्मेवारी तोकेको छ।
नगरपालिकाले प्रवाह गर्दै आएको नियमित सेवामा कुनै अवरोध नआओस् भनी नगर कार्यपालिकाको कार्यालयको निर्णयअनुसार कार्यालय अन्तर्गतका शाखा, वडा कार्यालय, स्वास्थ्यचौकी तथा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा कार्यरत कर्मचारीहरूलाई अतिरिक्त जिम्मेवारीसहित कामकाजमा खटाइएको हो। यससम्बन्धी निर्णयअनुसार सूचना नै जारी गर्दै सम्बन्धित सबैलाई जानकारी गराइएको नगरपालिकाले जनाएको छ।
जारी सूचनाअनुसार स्वास्थ्य, प्रशासन, योजना, प्राविधिक, लेखा, सामाजिक विकास, महिला विकास, राजश्व, लघुउद्यम, पञ्जीकरण, वडा कार्यालयलगायत विभिन्न शाखा तथा स्वास्थ्य संस्थामा कार्यरत अधिकृत, सहायक, सब–इन्जिनियर, कम्प्युटर अपरेटर, वडा सचिवलगायत झण्डै ७९ जना कर्मचारीहरूलाई थप जिम्मेवारी तोकिएको छ।
यसैक्रममा सिरहा नगरपालिकाका पूर्व निमित्त प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवलाई वडा नम्बर १८ को वडा सचिवको जिम्मेवारी तोकिएको छ ।
सेवा व्यवस्थापनमा देखिएको रिक्तता पूर्ति गर्न अनुभव र कार्यक्षमताका आधारमा जिम्मेवारी पुनःव्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ। त्यस्तै,निबर्तमान निमित्त प्रमुख प्रशासकिय अधिकृत मो.इदरिश राइनलाई स्वास्थ्यचौकी सुखचैना, सि.न.पा. १५. स्वास्थ्य संस्था प्रमुखको रुपमा काम काजको जिम्मेवारी दिएका छन ।
नगरपालिकाले कामकाज तथा जिम्मेवारीमा खटाइएको सम्बन्धी पत्र सूचना तथा प्रविधि शाखाबाट प्राप्त गरी तोकिएको स्थानमा अनिवार्य रूपमा उपस्थित भई कामकाज गर्न अनुरोध गरेको छ। खटाइएको स्थानमा कामकाज नगएमा नियमानुसार कारबाही हुने व्यहोरा समेत सूचनामार्फत स्पष्ट गरिएको छ।
नगरपालिकाका अनुसार सेवा सम्झौता रद्दको अवस्थाका बाबजुद नगरबासीले पाउने सेवा प्रवाहमा कुनै असर नपरोस् भन्ने उद्देश्यले वैकल्पिक व्यवस्थापनस्वरूप कर्मचारीहरूको जिम्मेवारी पुनःव्यवस्थापन गरिएको हो।




















