मिथिला रत्न,सिरहा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सिरहा जिल्ला समितिले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाका चारै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको छ।
पार्टीको आज सम्पन्न जिल्ला कमिटी बैठकले क्षेत्रगत रूपमा उम्मेदवारहरूको नाम केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको हो। निर्णयअनुसार प्रतिनिधिसभा प्रत्यक्ष तर्फ निर्वाचन क्षेत्र नम्बर १ बाट रामचन्द्र यादव सिफारिस भएका छन्।
त्यसैगरी निर्वाचन क्षेत्र नम्बर २ बाट मनोज पासवान, ब्रह्मदेब राम, गणपैत यादव र लक्ष्मी यादवको नाम सिफारिस गरिएको छ। निर्वाचन क्षेत्र नम्बर ३ बाट डा. जयनारायण यादव, बिश्वनाथ साह र प्रमोद यादव सिफारिस भएका छन्।
यस्तै, निर्वाचन क्षेत्र नम्बर ४ बाट श्रवण यादव, दिलिप साह, धर्मनाथ प्रसाद साह, महेन्द्र पासवान, अजय शंकर नायक, प्रमोद नारायण यादव र सतेन्द्र यादवको नाम केन्द्रमा पठाइएको छ।
पार्टी स्रोतका अनुसार सिफारिस गरिएका उम्मेदवारहरूको अन्तिम टुंगो केन्द्रिय कमिटीले आवश्यक छलफल, मूल्यांकन र मापदण्डका आधारमा लगाउने जनाएको छ। यसैगरी जिल्ला कमिटी सिरहाले समानुपातिक तर्फ एक सय जनाभन्दा बढी आकांक्षी उम्मेदवारहरूको नाम समेत केन्द्रमा सिफारिस गरेको छ।
नेकपा सिरहाले संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा निर्वाचनमा बलियो उपस्थितिका लागि आवश्यक तयारीलाई तीव्र बनाएको पार्टीले जनाएको छ ।




















