जनकपुरधाम, असोज २९ — मधेश प्रदेशमा नयाँ सरकार गठनको तयारी भइरहेका बेला जेनजी पुस्ताले कडा चेतावनी दिएको छ — “भ्रष्ट, सेटिङबाज र कमिशनबाजहरू मन्त्री बने जनताको विद्रोह फेरि भड्किनेछ।”
संयोजक शिव यादवले बिहीवार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ कि, भदौ २३ र २४ गतेको ऐतिहासिक जेनजी विद्रोहको जगमा बनेको अन्तरिम सरकार जनताको बलिदान र भरोसामा टेकेको सरकार हो, त्यसैले “त्यो सरकारमा पुनः भ्रष्टचरित व्यक्तिहरूको प्रवेश भए आन्दोलन अपरिहार्य हुनेछ।”
यादवले विज्ञप्तिमा लेखेका छन्,
“जनताले स्वच्छ नेतृत्व, पारदर्शी शासन र भ्रष्टाचारमुक्त सरकार चाहेका छन्। यही जेनजी आन्दोलनको म्यान्डेट हो। मधेशमा फेरि पुरानै सेटिङ संस्कार ल्याउने खेल भयो भने हामी खबरदारी मात्र होइन, प्रतिवादका साथ सडकमा उत्रनेछौं।”
विज्ञप्तिमा मधेश प्रदेशसभा सदस्यहरू र दलहरूलाई “निजी स्वार्थ होइन, जनताको म्यान्डेटमा चल्न” आग्रह गरिएको छ। मुख्यमन्त्री र मन्त्रीहरूको चयन गर्दा समावेशी सिद्धान्त र जनविश्वासलाई मापदण्ड बनाउन सुझाव दिइएको छ।
जेनजी पुस्ताले सरकार गठनमा संलग्न शक्तिहरूलाई स्मरण गराएको छ —
“शहीद र घाइतेहरूको बलिदानमाथि कुनै प्रकारको अपमान भयो भने यो पुस्ता मौन बस्दैन।”




















