जनकपुर ।देशभर मनसुनी वायुको प्रभाव कमजोर बन्दै गएको अवस्थामा पनि मधेश प्रदेशसहित चार प्रदेशमा भने भारी वर्षाको सम्भावना देखिएको छ।


मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सामान्य स्थानको दक्षिणतिर रहेकोले देशभर आंशिकदेखि सामान्य बदली देखिएको छ। मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा आज राति चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ।

विशेषगरी कोशी र मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।


यसकारण नदी, खोलामा पानीको सतह बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरोको सम्भावना र तराई क्षेत्रमा डुबानको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

दिउँसो भने कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली देखिनेछ भने अन्य प्रदेशमा आंशिक बदली रहनेछ।


मौसमको यो परिवर्तनले मधेश प्रदेशका कृषकहरू, यात्रुहरू र सर्वसाधारणले विशेष ध्यान दिनुपर्ने अवस्था सिर्जना भएको छ।