सिरहा । नेपाल प्रहरी संगठनले दिएको जिम्मेवारीमा उच्च लगनशीलता, कर्तव्यनिष्ठा र प्रभावकारी सुरक्षा व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका प्रहरी नायव उपरीक्षक (प्र.ना.उ.) बिरेन्द्र कुमार पासवानलाई ‘Police of The Month’ बाट सम्मान गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाले २०८२ सालको जेठ महिनाका लागि प्र.ना.उ. पासवानलाई संगठनको श्रीवृद्धि, नागरिकसँगको सम्बन्ध सुदृढीकरण तथा शान्ति सुरक्षाको प्रवर्द्धनमा दिएको उल्लेखनीय योगदानका लागि यो सम्मान प्रदान गरेको हो।
प्र.ना.उ. पासवानले पछिल्लो समय सिरहा जिल्लामा लागुऔषध नियन्त्रण, अवैध हतियार बरामद, फरार प्रतिवादीहरू पक्राउ, महिला तथा बालबालिकामाथि हुने हिंसा नियन्त्रण, ट्राफिक व्यवस्थापन सुधार लगायतका महत्वपूर्ण अभियानहरूमा नेतृत्वदायी भूमिका निभाएका छन्।
विशेषगरी, सिरहा नगरपालिका र आसपासका क्षेत्रमा सक्रिय लागुऔषध गिरोहहरूलाई नियन्त्रणमा लिने क्रममा उनले टोलीको नेतृत्व गर्दै ठूलो परिमाणमा लागुऔषधसहित शंकास्पद व्यक्तिहरूलाई पक्राउ गर्न सफल भएका थिए। साथै, स्थानीय विद्यालयहरूमा पुगेर विद्यार्थीहरूलाई लक्षित सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु र ‘Community Policing’ लाई प्रभावकारी बनाउँदै महिलामाथि हिंसा नियन्त्रणमा योगदान दिनु उनका थप उपलब्धिहरू हुन्।
प्रहरी–सर्वसाधारण समन्वय तथा सूचना व्यवस्थापनमा समेत सधैं क्रियाशील रहँदै आएका पासवानले संगठनले तोकेको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्दै जनसाधारणमा सुरक्षा अनुभूति गराउन सफल भूमिका खेलेका छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाले उनलाई सम्मान गर्दै आगामी दिनमा पनि यस्तै उत्कृष्ट कार्य प्रदर्शन जारी रहोस् भन्ने शुभकामना व्यक्त गरेको छ। नेपाल प्रहरी संगठनले हरेक महिनामा जिम्मेवारीप्रति समर्पित, अनुशासित र उल्लेखनीय योगदान गर्ने प्रहरी अधिकारी वा कर्मचारीलाई ‘Police of The Month’ बाट सम्मान गर्ने परम्परा अनुसार यो पटक पासवानलाई छनोट गरिएको हो।




















