बोनोद मण्डल,सिरहा । सिराहा जिल्लाको धनगढीमाई –१४ मडयान लहायो टोलका एक व्यक्तिले सामाजिक र पारिवारिक मर्यादाको उलङ्घन गर्दै आफ्नै भान्जाको पत्नीलाई भगाएको उजुरी परेको छ ।
स्थानीय ५५ वर्षीय देवी बहादुर ल्हायो मगरले २०८१ माघ २७ गते आइतबारका दिन आफ्ना भान्जा रुद्र बहादुर सिंजाली मगरकी धर्मपत्नी ४६ वर्षीया मनकुमारी मगरलाई घरमा कोही नभएको मौका छोपेर भगाएको आरोप लागेको हो । घटना केही दिनसम्म लुकाइए पनि पछि गाउँमा विषय सार्वजनिक भएपछि स्थानीय समाजमा व्यापक चर्चा परिचर्चा भएको थियो ।
मनकुमारी मगर र रुद्र बहादुर सिंजाली मगरबीच करिब ३० वर्षअघि विवाह भएको थियो र उनीहरूका दुई छोरी र एक छोरा रहेका छन् । लामो समयदेखि पारिवारिक जीवन शान्तिपूर्वक चल्दै आएको अवस्थामा यस्ता अप्रत्याशित घटना हुनुले पीडित परिवारलाई ठूलो मानसिक आघात पुर्याएको बताइएको छ ।
भान्जाको पत्नी भगाएर देवी बहादुर मगर अहिले तीन जना पत्नीको श्रीमान् भएका छन् । यस्तो हाड नाताको मर्यादा उल्लंघन गर्ने कार्यले सामाजिक मान्यता, परम्परा र कानुनी दृष्टिकोणले समेत गम्भीर प्रश्न उठाएको छ ।
पीडित रुद्र बहादुर मगरले सामाजिक मर्यादालाई ध्यानमा राख्दै आफ्ना नातेदार र आफन्तजनबाट खोजतलास गरे पनि कुनै परिणाम नआएपछि अन्ततः उनले इलाका प्रहरी कार्यालय लाहानमा २०८२ साल जेठ १८ गते लिखित उजुरी दर्ता गराएका छन् ।
प्रहरीका अनुसार हाल घटनाबारे प्रारम्भिक अनुसन्धान सुरु गरिएको छ । सो सम्बन्धमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ । नेपालमा यस्तो प्रकारको सम्बन्धलाई मुलुकी फौजदारी संहिता, २०७४ को अनुचित सम्बन्धसम्बन्धी व्यवस्था अन्तर्गत मूल्याङ्कन गरिन सक्ने अवस्था रहेको देखिन्छ ।
यता समाजमा देवी बहादुर मगरको कर्तुतलाई लिएर उनलाई सामाजिक बहिष्कार गरिनुपर्ने स्थानियहरु बताउँछन् । सम्पतिको धाक लगाउँदै श्रीमतीहरु बटुल्न पल्केका देवी बहादुर मगर त्यतिबेला सामाजिक संपर्क बाहिर रहेका छन ।




















