सिरहा– सिरहामा लागुऔषध कारोबार तथा अवैध रकम ओसारपसारमा संलग्न पाँच जना विभिन्न स्थानबाट पक्राउ परेका छन्।
जिल्ला प्रहरि कार्यालय सिरहाले सन्चालन गरेको विशेष अपरेसनको क्रममा ठूलो मात्रामा खैरो हिरोइन र अवैध नगद बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी बिरेन्द्र पासमानको नेतृत्व र लागुऔषध नियन्त्रण ब्युरो गोलबजारको संयुक्त टोलीले लहान नगरपालिका–१२ स्थित भोटिया टोलबाट जेठ २ गते को ५ प ६९२७ नम्बरको पल्सर मोटरसाइकलमा सवार दिनेश कुमार यादव (३२) र उनकी बहिनी किरण कुमारी यादव (२६) लाई नियन्त्रणमा लिएको थियो। जाँचका क्रममा दिनेशको साथबाट २२.९० ग्राम खैरो हिरोइन र ५१ हजार ४५० रुपैयाँ नगद बरामद भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन ।
लहान–२२ स्थित दिनेशको घरमा गरिएको खानतलासीमा थप १८६ ग्राम खैरो हिरोइन, ५४ लाख १४ हजार २८५ नेपाली रुपैयाँ, ३५ हजार ७८० भारतीय रुपैयाँ, चार थान मोबाइल र एक थान डिजिटल तराजु फेला परेको थियो।
जेठ ३ गते बरियारपट्टि गाउँपालिका–३ चमार टोलमा चेकिङका क्रममा भारतको लदनियाबाट आएका दुई युवालाई लागुऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका कृष्णकुमार यादव (२०) र नीरज राय (१९) को साथबाट ७१० मिलिग्राम खैरो हिरोइन फेला परेको हो।
त्यसै दिन सिरहा नगरपालिका–२ स्थित महावीर चोकनजिक भारतको जयनगरबाट आएका सञ्जय कारक (४५) को साथबाट समेत अवैध रूपमा ल्याइरहेको नगद बरमाद भएको थियो। शंका लागि जाँच गर्दा उनको कम्मर र घुँडामा लुकाइ ल्याइएको १६ लाख ३८ हजार नेपाली रुपैयाँ बरमाद भएको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार उनीहरूमाथि लागुऔषध कारोबार र अवैध सम्पत्तिसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ।




















