सिरहा । सिराहाको मिर्चैया बजारमा नेपाल प्रहरीको घुमुवा र तस्करको आपसी सम्बन्धबारे शंकास्पद घटना सार्वजनिक भएको छ। इलाका प्रहरी कार्यालय मिर्चैयाका घुमुवा असय रामेश्वर खङ "मण्डल" र एक तस्करले मिर्चैया नगरपालिका-६ स्थित कटारी चौकको सुकना मदिरा होटलमा सँगै मदिरा सेवन गरेको र त्यसक्रममा तस्कर अत्यधिक मदिरा सेवनका कारण सडकमै वान्ता गरी बेहोस भएको स्थानीय प्रत्यक्षदर्शीहरूले बताएका छन्।

घटनास्थलका प्रत्यक्षदर्शीका अनुसार, मदिरा सेवनपछि उनीहरू होटलबाट निस्केर कटारी चौकको एक पान पसलमा पुगेका थिए। त्यहाँ तस्करले अचानक वान्ता गर्न थालेपछि बेहोस भएको र घुमुवाले उसलाई त्यहाँबाट हटाउने प्रयास गरेका थिए। पान पसल सञ्चालकले यस घटनाका कारण व्यापारमा समस्या परेको गुनासो गर्दै तुरुन्तै प्रहरीलाई खबर गरेका थिए।

घटनापछि प्रहरी टोलीले बेहोस तस्करलाई घर पठाएको र घुमुवालाई प्रहरी कार्यालय लगेको बताइएको छ। घटनाबारे प्रतिक्रिया दिँदै इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक पञ्च कुमार बाखुले घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन भइरहेको बताएका छन्। उनले बाहिर आएका जानकारीहरू सधैं सत्य नहुन सक्ने भन्दै थप अनुसन्धानपछि मात्र निष्कर्षमा पुग्न सकिने बताएका छन्।

स्थानीय बासिन्दाले भने प्रहरी र तस्करबीचको निकट सम्बन्धले प्रहरी संगठनको प्रतिष्ठामा आघात पुर्‍याएको भन्दै असन्तोष व्यक्त गरेका छन्। यस घटनाले प्रहरी घुमुवाको भूमिका र आचरणमाथि थप प्रश्न उठाएको छ, जसलाई समयमै सम्बोधन गर्न स्थानीयवासीले माग गरेका छन्।