सिरहा – विष्णुपुर गाउँपालिका वडा नम्बर १ मा पर्ने श्री जनता माध्यमिक विद्यालय गौरीपुरका विद्यार्थीहरूले शैक्षिक सुधारको माग गर्दै आन्दोलन थालेका छन्। आन्दोलनको क्रममा एक विद्यार्थी घाइते समेत भएका छन ।
चार दिनदेखि विद्यालयमा तालाबन्दी गर्दा समेत वडा अध्यक्ष भोगिन्द्र यादव र स्थानीय जनप्रतिनिधिले समस्या समाधानमा चासो नदिएको भन्दै आक्रोशित विद्यार्थीहरूले वडा कार्यालय र गाउँपालिका कार्यालयमा तालाबन्दी गरी तोडफोड गरेका छन्।
विद्यार्थीहरूले विद्यालयको व्यवस्थापन, गुणस्तरीय शिक्षा, आवश्यक शिक्षक र शैक्षिक सामग्री उपलब्ध गराउन माग गर्दै आन्दोलन सुरु गरेका हुन्। स्थानीय प्रशासन र सरोकारवाला निकायको ध्यानाकर्षण गराउन विद्यार्थीहरूले यो कदम चालेको जनाइएको छ।
उनिहरुले प्रधानाध्यापक पहलाद यादबलाई समेत स्कुलको शैक्षिक सुधार गर्न पटक-पटक गुहार गर्दा पनि कुनै किसिमको सुधार नहुदा बाध्य भएर आन्दोलनमा होमिनु परेको बताए ।
घटनापछि स्थानीय प्रशासन र गाउँपालिका अध्यक्ष सत्य नारायण यादबले विवाद समाधानका लागि छलफल गरि विद्यार्थीको माग सम्बोधन गरेका छन ।




















