मिथिला रत्न,सिरहा । सिरहाको मिर्चैयामा अवस्थित महारानी ज्वेलर्सले मिटरब्याजको धन्दा चलाउँदै आएको तथ्य बाहिरिएको छ । यस ज्वेलर्सका सञ्चालक अरुण शंकर साहले सुनचाँदी पसलबाट मिटरब्याजको धन्दा गर्दै आएका हुन् ।
मिर्चैया नगरपालिका-७ जीवाका रामेश्वर यादवले साढे तीन वर्षअघि १२ आना सुन राखेर ३० हजार ऋण लिएका थिए । यादवले सोही पसलबाट १७ वर्षअघि सुन खरिद पनि गरेका थिए ।
यादव मंगलबार हरहिसाब रफादफा गर्न सुनचाँदी पसल गएका थिए । हिसाब भइसकेपछि यादवले सुन पसले साहले सुन राखेर बाँकी पैसा फिर्ता गर्न आग्रह गरे । तर, साह मानेनन् । यादवका अनुसार, साहले अहिले सुनको मूल्य उच्च रहेको कारण देखाएर सुन राख्न अस्वीकार गरेका हुन् ।
जबकि, कसैले सुन किनेकै पसलमा बेच्न चाहे पसलले राख्नुपर्ने हुन्छ । साहले सुन राख्न अस्वीकार गरेपछि उनीहरूबीच नोकझोकसमेत परेको थियो । यस घटनापछि साहले मिटरब्याजको कारोबार गर्दै आएको खुलासा भएको हो ।
मिर्चैया नगरपालिका-११ का रामशंकर यादवले पनि यो ज्वेलर्समा आफूसँग पनि यस्तै भएको गुनासो गरेका छन् । यता, साहले भने आफूले मिटरब्याजको कारोबार नगरेको दाबी गरे पनि सुन राखेर पैसा दिएको स्वीकार गरेका छन् ।




















