मिथिला रत्न,सिरहा । देशभर माध्यमिक शिक्षा परीक्षा (SEE) सञ्चालन भइरहेको बेला सिरहामा परीक्षाको मर्यादा भंग हुने गतिविधि सार्वजनिक भएको छ। जिल्ला प्रशासन कार्यालयबाट खटिएका प्रतिनिधिहरु अनुगमनको नाउँमा केन्द्राध्यक्षसँग आर्थिक लेनदेनको प्रयास गरिरहेको खुलेको छ।

मंगलबार सिरहाको श्री जनता माध्यमिक विद्यालय, विष्णुपुर गौरीपुर परीक्षा केन्द्रमा पुगेका करारमा कार्यरत कम्प्युटर अपरेटर सुर्यमणि यादव र नायब सुब्बा सिकेश साह नामका कर्मचारीहरूले केन्द्राध्यक्ष प्रह्लाद यादवसँग भेटघाट गरेका थिए। उनीहरू केन्द्रको अनुगमनका लागि पुगेको बताइए पनि उनीहरूको गतिविधि शंकास्पद देखिएको छ।

स्थानीय सञ्चारकर्मीहरूले अनुगमन टोलीलाई परीक्षाको अवस्था बारे सोध्दा उनीहरू जवाफ दिन आनाकानी गर्दै अकर्मण्य शैलीमा प्रस्तुत भए। प्रतिनिधि सुर्यमणि यादवले सञ्चारकर्मीहरूलाई "तपाईंलाई सोध्ने अधिकार छ र?" भन्दै अटेरी गरे। उनले परीक्षामा अनियमितता भएको कुरा अस्वीकार मात्र गरेनन्, सञ्चारकर्मीहरूसँग दुर्व्यवहार गर्ने शैली अपनाए।

यसबाहेक, परीक्षा केन्द्रबाट विद्यार्थीहरूले परीक्षा हलमै मोबाइल प्रयोग गरिरहेको गुनासो प्राप्त भएपछि थप अनुसन्धान गर्दा प्रत्येक विद्यार्थीबाट रु. २,००० असुली गरिएको खुलेको छ। स्थानीय स्रोतका अनुसार, यो रकम परीक्षा केन्द्रका शिक्षक तथा केन्द्राध्यक्षको सेटिङमा संकलन गरिएको हो, जसका कारण परीक्षामा व्यापक धाँधली भइरहेको छ।

यस घटनाले सिरहाका परीक्षा केन्द्रहरूमा अनुगमन तथा प्रशासनिक संयन्त्र फितलो भएको देखाएको छ। जिम्मेवार निकायले तत्काल छानबिन गरी दोषीमाथि कारबाही नगरेमा परीक्षाको विश्वसनीयता गम्भीर रूपमा प्रभावित हुने देखिन्छ।