प्रिय Gen-Z का साथीहरू,
हाम्रो देशले विगतमा धेरै ऐतिहासिक आन्दोलनहरू व्यहोरेको छ। ती आन्दोलनहरूले देशलाई ठूलो धन–जनको क्षति पुर्याए कसैको रगत बग्यो, कसैको मृत्यु भयो, कसैको शरीर अपाङ्ग बन्यो, कसैको घर–परिवार उजाडियो, र धेरैको सपना चकनाचुर भयो।
तर यति ठूलो बलिदान हुँदाहुँदै पनि यदि हामीले अझै एक भएर देशको लागि काम गर्न सकेनौं भने, इतिहासले—शहीदहरूको रगतले—हामीलाई माफी दिनेछैन। हाम्रो आजको कमजोरीको भारी भोलि हाम्रो आफ्नै सन्तानले बोक्नुपर्नेछ।
त्यसैले अब सबै सचेत युवाहरू एकजुट भएर एउटै दिशामा—देश परिवर्तनको दिशामा—लाग्नु अत्यावश्यक छ।
अर्को तर्फ, यदि कोही सत्ता, पद र मन्त्री बन्ने लोभमा पार्टी खोल्दै, टिम–टाम बनाउँदै हिंडिरहन चाहन्छ भने, जनताले फेरि त्यस्तै नेताहरूलाई लखेट्छन्—इतिहास साक्षी छ।
देशमा पाँच–पाँच पटक प्रधानमन्त्री बनेका व्यक्तिहरूको अहिलेको अवस्था हेर्नुस्—सत्ताको चरम उचाइ एकदिन पतन बन्छ; तर जनता कहिल्यै बिर्सिंदैन।
नेपाली मर्न जान्छ, तर खुल्न—सचेत हुन र सत्य बोल्न—पनि जान्दछ।
त्यसैले प्रिय Gen-Z,
पुरानै नेताहरु जस्तै स्वार्थका लागि नफुटिनुहोस्।
किनकि फुट्नु भनेको त्यो ७२ जना शहीदले रगतले कोरेको सपनालाई तोड्नु हो।
देशलाई अहिले नयाँ दल, नयाँ नेताको भीड होइन—एकताबद्ध परिवर्तनकारी शक्ति चाहिएको छ।
हामीले विगतका आन्दोलनहरू—१० वर्षे द्वन्द्व, मधेस आन्दोलन, राजतन्त्रविरुद्धका आन्दोलन, कांग्रेसका ऐतिहासिक विद्रोह, सहिद दुर्गानन्दको बलिदान—सबैलाई नजिकबाट हेर्ने हो भने एउटा कुरा स्पष्ट हुन्छ:
देशले पटक–पटक परिवर्तन खोज्यो, तर परिवर्तन नेताको जीवनमा मात्रै आयो—आम जनताको जीवन उस्तै रह्यो।
त्यसैले म यो आवाज केवल आफ्नो सोचका रूपमा होइन, आम जनसमुदायको आवाजका रूपमा राख्दैछु—
Gen-Z का साथीहरू, अब तपाईंहरूले पुरानै गल्ती दोहोर्याउनु हुँदैन।
यदि नयाँ पुस्ताका युवाहरू एक भएनन् भने घाटा हाम्रो—सबैको—हो।
तर नाफा उही पुराना दल, पुरानै स्वार्थी नेताहरूले उठाउँछन्।
इतिहास हेर्नुस्—जसले आन्दोलनमा कुटाइ खाए, जसले धरपकड सहनुपर्यो, यदि त्यही शासन फेरि सत्तामा आयो भने, उनीहरूले पहिलो काम आन्दोलनका नाइके–कार्यकर्तालाई जेलमा हाल्ने गर्छन्।
रमेश चौधरीको घटना त अझै ताजै छ—कसरी आन्दोलनकारी नै बलिको बोका बनाइयो।
त्यसैले,
शहीदलाई सीढी बनाइ मन्त्री बन्ने होइन,
शहीदको सपना पूरा गर्दै देश बनाउने संकल्प गर्नुस्।
यही मेरो बुझाइ, यही मेरो मनको आवाज र यही लाखौँ नेपालीहरूको आशा हो।
एकताबाटै परिवर्तन सम्भव छ।




















