सिरहा, कात्तिक २६ । सिरहाको कल्याणपुर नगरपालिका–८, अरङमा दलित परिवारको घर तोडफोड तथा लुटपाट गरेको घटनामा संलग्न ठहरिएका वडाध्यक्ष रामकिशोर यादवलाई प्रहरीले थुनछेकका लागि अदालतमा पेस गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी रमेशबहादुर पालका अनुसार वडाध्यक्ष यादवलाई कानुन बमोजिम नियन्त्रणमा लिई आज जिल्ला अदालत सिरहामा थुनछेकका लागि पेश गरिएको हो।
गत असोज १७ गते दिउँसो, अरङस्थित दलित बस्तीमा रहेका राजकुमार पासवान, रासलाल पासवान, अशोक पासवान, बिन्दे पासवान र सोभित पासवान गरी पाँच पासवान परिवारको घरमा ५० जनाभन्दा बढीको समूहले आक्रमण गरी तोडफोड तथा लुटपाट गरेको थियो।
उक्त घटनामा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष यादवसहित प्रभास सिंह, नितेश सिंह, शैलेन्द्र सिंह, राजकुमार सिंह, मनोज यादव, कैलाश सिंह, गणेश कामती, मुस्तफा राइनलगायत १३ जनाविरुद्ध आपराधिक उपद्रव र जातीय छुवाछूतसम्बन्धी कसुरमा इलाका प्रहरी कार्यालय मिर्चैयामा किटानी जाहेरी दर्ता भएको थियो।
घटनापछि वडाध्यक्ष यादव, गणेश र कैलाशलाई प्रहरीले असोज १८ गते, मनोज यादवलाई असोज २० गते पक्राउ गरेको थियो। अनुसन्धानको क्रममा स्वास्थ्य कारण देखाउँदै वडाध्यक्ष यादव हाजिरी जमानीमा रिहा भएका थिए भने कैलाश सिंहलाई धरौटीमा, र गणेश कामती तथा मनोज यादवलाई पुर्पक्षका लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
हाल प्रहरीले बाँकी फरार अभियुक्तहरूको खोजीलाई तीव्र पारेको बताइएको छ।




















