सिरहा, कात्तिक १२ — शिक्षा, ज्ञान र चेतनाको विस्तार गर्ने उद्देश्यले जेनजी पुस्ताले सिरहाको बिष्णुपुरमा पुस्तकालय स्थापना अभियान सुरु गरेको छ। अध्ययन संस्कृतिको विकास र युवाहरूमा पढ्ने बानी जगाउने लक्ष्यका साथ युवाहरूले सामुदायिक स्तरमा पुस्तकालय स्थापना गर्ने तयारी गरेका छन्।
जेनजी पुस्ताका सन्तोष यादवका अनुसार, बिष्णुपुरमा सुरु गरिएको यो अभियानले गाउँमा ज्ञानको पहुँच पुर्याउने कार्यको सुरुवात हो। यादवले भने, “हामी पुस्तकालयलाई केवल पुस्तक राख्ने स्थान होइन, संवाद, अध्ययन र विचार आदान–प्रदानको केन्द्रका रूपमा विकास गर्न चाहन्छौं।”
उनका अनुसार, पहिलो चरणमा स्थानीय युवाहरू र शिक्षाप्रेमीहरूका सहयोगमा सानो सामुदायिक पुस्तकालय स्थापना गर्ने योजना बनाइएको छ। त्यसपछि विद्यालयहरूमा पनि पुस्तकालय विस्तार गर्ने लक्ष्य लिएको छ।
अभियानलाई प्रभावकारी बनाउन स्थानीय तहसँग सहकार्यका प्रयासहरू भइरहेको र जनसहभागितामार्फत स्रोतसाधन जुटाउने तयारी भइरहेको जेनजी पुस्ताका इ.उपेन्द्र यादवले जनाएको छ।
“ज्ञान फैलाऔँ, पुस्तकालय बनाऔँ” भन्ने नारासहित सुरु गरिएको यो अभियानले बिष्णुपुरका युवाहरूमा अध्ययन–संस्कृति र सकारात्मक सोच विकास गर्न योगदान पुर्याउने अपेक्षा गरिएको छ।




















