सिरहा । सिरहाको बिष्णुपुर गाउँपालिका–५ का दलित समुदायका विपसा सदायको उपचारकै क्रममा मृत्यु भएपछि शवलाई फुलकुमारी मेमोरियल अस्पताल, कर्जन्हाले दुई दिनसम्म ‘बन्धक’ बनाएर राखेको खुलेको छ।

अस्पतालले सम्पूर्ण उपचार खर्च तिर्न नसकेपछि मात्र शव दिन तयार भएको र अन्ततः समाजिक अगुवाहरूको पहलमा परिबारजनले ४० हजार रुपैयाँ बुझाएपछि मात्र शुक्रबार शव घर ल्याइएको मृतक बुवा हरि लाल सदायले बताएका छन्।

सर्पले टोकेपछि अति विपन्न सदाय परिवारका सदस्यले उनलाई उपचारका लागि फुलकुमारी अस्पताल पुर्‍याएका थिए। उपचार क्रममा लागेको खर्च तत्काल तिर्न नसकेपछि अस्पताल प्रशासनले शव बुझाउन नमानेको मृतकका बुबाले गुनासो गरे। सुरुमा स्थानीय साहुबाट ऋण लिएर केही रकम बुझाइए पनि बाँकी रकम जुटाउन परिवारलाई निकै कठिनाइ भएको थियो।

समाजसेवी मुरली माझी र बिष्णुपुर गाउँपालिका स्वतन्त्र युवा समाजका Gen Z सन्तोष कुमार यादवले सामाजिक सञ्जालमार्फत अभियान चलाएपछि रकम संकलन भएको थियो। त्यसैगरी मिर्चैया नगरपालिकाका मेयर श्रवण यादवले निःशुल्क एम्बुलेन्स उपलब्ध गराएपछि शव घर ल्याउन सहयोग भएको हो।

अस्पताल प्रशासनले भने औषधि खर्चबाहेक अझै करिब १ लाख रुपैयाँ बक्यौता रहेको र सम्भव भएजति छुट गरेर मात्र शव बुझाइएको दाबी गरेको छ। अस्पतालले शव बन्धक नराखिएको दाबी गरे पनि परिवारजनले अस्पतालकै कारण दुई दिनसम्म पीडामा रहनु परेको बताए।

परिवारका अनुसार अन्त्येष्टि खर्चको समेत व्यवस्था गर्न नसक्दा ऋणको भारी थपिएको छ। “यो संसारमा पैसा नभएकाको कोही छैन जस्तो भयो,” भन्दै परिवारजन रुँदै भक्कानिएका थिए।

यसैबीच, परिवारले क्षेत्र नम्बर ४ का तत्कालीन सांसद बिरेन्द्र महतोलाई पटक–पटक फोन सम्पर्क गरे पनि उनले कुरा सुन्नु त परै जाओस्, फोन नै काटिदिएको आरोप लगाएका छन्।

शुक्रबार नै सदायको परम्पराअनुसार अन्त्येष्टि गरिएको छ। शव बुझाउन तिर्नु परेको ४० हजार रुपैयाँ Gen Z बिष्णुपुर गाउँपालिका स्वतन्त्र युवा समाजले सहयोग गर्ने  यादवले जनाएका छन् ।