सिरहा । मकवानपुरको थाहा नगरपालिकामा अक्सिजन जेनेरेसन प्लान्ट खरिद प्रकरणमा अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीसहित पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले तत्कालीन लेखा अधिकृत हरि बहादुर खपाङ्गी मगर, ईन्जिनियर सन्तोष बोहरा, सहायक पाँचौं सुदर्शन पहेली, प्रदेश स्वास्थ्य व्यवस्थापन आपूर्ति केन्द्रका बायोमेडिकल इन्जिनियर राजेश्वर कमली, शुभारम्भ सर्भिस ट्रेडर्स प्रा.लि. र त्यस प्रा.लि.का अध्यक्ष सोबित प्रसाईविरुद्ध पनि मुद्दा दायर गरेको हो।
हाल गोलबजार नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालिरहेका पुरीसहित सबै अभियुक्तमाथि जनही १ करोड १० लाख १ हजार १९९ रुपैयाँ ७५ पैसाको बिगो कायम गरी कैद र जरिवाना माग गरिएको छ।
आर्थिक वर्ष २०७८/७९ मा अक्सिजन जेनेरेसन प्लान्ट खरिदका लागि प्रदेश सरकारबाट ५५ लाख र संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट १ करोड रुपैयाँ विनियोजन गरिएको थियो। तर आयोगका अनुसार, आपसी मिलेमतोमा बदनियतपूर्वक स्वीकृत स्पेसिफिकेसनभन्दा फरक प्रविधिको सामान प्रस्ताव गरी सुभारम्भ सर्भिस ट्रेडर्सले पेश गरेको बोलपत्रलाई प्राविधिक मूल्याङ्कनबाट पास गराई सम्झौता गरिएको थियो।
अख्तियारले यस्तो कार्य भ्रष्टाचार निवारण ऐन विपरीत भएको भन्दै दोषीहरूलाई कारबाही हुनुपर्ने निष्कर्षसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो।




















