सिरहा । नेपाल पत्रकार महासंघ, सिरहा शाखाका अध्यक्ष मनोज बनैता यादवमाथि लक्षित गर्दै नेकपा एमाले लहान नगर अध्यक्ष राजकुमार साहले सामाजिक सञ्जालमार्फत प्रयोग गरेको अश्लील र अपमानजनक भाषाप्रति सञ्चारकर्मीहरूले कडा आपत्ति जनाएका छन्।
लहान उपमेयरको भिडियो सामग्री सार्वजनिक भएपछि त्यसलाई लिएर अध्यक्ष साहले मंगलबार सामाजिक सञ्जालमा अध्यक्ष यादवलाई लक्षित गर्दै अमर्यादित र गैरजिम्मेवार अभिव्यक्ति दिएका थिए। सो घटनाले सञ्चार क्षेत्रमै हलचल ल्याएको छ।
यस घटनापछि नेपाल पत्रकार महासंघ, मधेस प्रदेशले बुधबार विज्ञप्ति जारी गर्दै साहको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासचिव शैलेन्द्र क्रान्तिद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “साहले प्रयोग गरेका भ्रमपूर्ण, अश्लील र आपत्तिजनक अभिव्यक्तिको हामी घोर भर्त्सना गर्छौं। छानबिन गरी उनीमाथि कडा कारबाही होस्।”
यस्तै, महासंघको सिरहा शाखाले पनि कडा शब्दमा विरोध जनाएको छ। शाखा सचिव मुकेशकुमार यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यदि कुनै सामग्री सत्यमा आधारित छ भने त्यसलाई सार्वजनिक गर्नु पत्रकारको अधिकार मात्र होइन, कर्तव्य पनि हो। यस्तो विषयलाई लिएर पत्रकारमाथि अपशब्द प्रयोग गर्नु सम्पूर्ण सञ्चार क्षेत्रमाथिकै हमला हो।”
घटनाको विरोधमा प्रेस सेन्टर सिरहा प्रेस मन्च र प्रेस युनियन सिरहाले समेत छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै साहको अभिव्यक्तिलाई आपत्तिजनक, अस्वीकार्य र प्रेस स्वतन्त्रताको खुला अपमान भनेका छन्। उनीहरूले सम्बन्धित निकायसँग तत्काल कानुनी कारबाहीको माग समेत गरेका छन्।
यस घटनाले एकपटक फेरि नेता–पत्रकार सम्बन्धमा बढ्दो असहिष्णुतालाई उजागर गरिदिएको छ, जसले प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ।




















