सिरहा । सिरहाको विष्णुपुर गाउँपालिका–१ स्थित श्री जनता माध्यमिक विद्यालय, गौरीपुर विष्णुपुरमा पुराना पाठ्यपुस्तकहरू अवैध रूपमा कबाडी व्यापारीलाई बिक्री गरिएको खुलासा भएको छ। विद्यालयका प्रधानाध्यापक प्रहलाद यादवले कुनै औपचारिक प्रक्रिया बिना सरकारी सम्पत्ति अन्तरगतका पाठ्यपुस्तकहरू निजी रूपमा बिक्री गरेका हुन्।
श्रोतका अनुसार विद्यालयमा विगत वर्षहरूमा संकलन गरिएका पुराना पाठ्यपुस्तकहरू विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ वा स्थानीय तहको शिक्षा शाखाको निर्णय तथा स्वीकृति बिना नै कबाडी व्यापारीलाई बेचेको पाइएको हो। न त कुनै लेखाजोखा गरिएको थियो, न त बैठकको माइनुट तयार गरिएको।

शिक्षा ऐन र सरकारी सम्पत्ति व्यवस्थापनसम्बन्धी निर्देशिका अनुसार, कुनै पनि सार्वजनिक शैक्षिक संस्थाले आफ्नो सम्पत्ति—जसमा पुराना सामग्री, किताब तथा अन्य सरसमान पर्छन्—बिक्री गर्दा व्यवस्थापन समितिको निर्णय, लेखाजोखा, र पालिकाको जानकारीको प्रक्रिया पालना गर्नुपर्ने प्रावधान छ। तर यस विद्यालयमा ती सबै प्रक्रिया बेवास्ता गरिएको देखिन्छ।
स्थानीय अभिभावक, शिक्षक तथा समाजसेवीहरूले यसप्रकारको कार्यलाई गैरकानुनी भन्दै छानबिन र कारबाहीको माग गरेका छन्। “विद्यालयमा सार्वजनिक सम्पत्ति यसरी मनपरी रूपमा बिक्री गर्नु दुर्भाग्यपूर्ण छ,” स्थानीय समाजसेवीले भने, “पालिका र सरोकारवाला निकायले यथाशीघ्र अनुसन्धान गरी दोषीमाथि कारबाही गर्नुपर्छ।”
विद्यालय व्यवस्थापन समितिका सदस्य अशेस्वर यादव र राम सागर महतोले आफूहरूलाई न लिखित, न मौखिक रूपमा कुनै जानकारी नदिइएको दाबी गरेका छन्। “प्रधानाध्यापकले मनोमानी रूपमा विद्यालयका धेरै काम गर्दै आएका छन्,” उनीहरूले आरोप लगाए।
प्रधानाध्यापक प्रहलाद यादवसँग सम्पर्क गर्दा उनले विद्यालयमा थुप्रिएका किताबहरू बिकाउन लागेको स्वीकारे। “धेरै दिनदेखि किताबहरू जाम भएका थिए, त्यसैले कबाडीलाई दिएका हौं,” उनले भने, “यद्यपि औपचारिक प्रक्रिया भने गरिएको छैन, तर शिक्षकहरूलाई भने जानकारी गराएको छु।”
विष्णुपुर गाउँपालिकाका शिक्षा शाखा प्रमुख दीपकुमार यादवले विद्यालयको कुनै पनि सम्पत्ति खरिद वा बिक्री गर्दा स्पष्ट प्रक्रिया पालना गर्नुपर्ने बताए। “यस विषयमा अहिलेसम्म हामीलाई कुनै जानकारी आएको थिएन,” उनले भने, “अब हामी प्रधानाध्यापकसँग बुझ्दैछौं र आवश्यक अनुसन्धान गरिनेछ।”
स्थानीय स्तरमा चासो र आलोचना बढ्दै गएपछि अब पालिकाको तर्फबाट के कदम चालिन्छ भन्ने प्रतीक्षा गरिएको छ।