सिरहा । – सिरहाको विष्णुपुर गाउँपालिकाले आन्तरिक आम्दानीको झण्डै ९६ प्रतिशत रकम विविध शीर्षकमा खर्च गरेको खुलेको छ। कुल आन्तरिक आय रू. ३९ लाख ४० हजार ३१९ मध्ये रू. ३७ लाख ९१ हजार खाना, खाजा, चिया, पानी तथा कार्यक्रम सञ्चालन लगायतका शीर्षकमा खर्च गरिएको हो।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३९ अनुसार खर्च गर्दा त्यसको औचित्य, निर्णय र पुष्टिका प्रमाणसहित खर्च गर्नु पर्ने व्यवस्था छ। तर गाउँपालिकाले कतिपय खर्चमा केवल बिल भर्पाई मात्र संलग्न गरेको पाइयो भने सम्बन्धित निर्णय तथा औपचारिक प्रमाण कागजात नजोडिएको देखिएको छ।

विशेषगरी "विविध खर्च" भन्ने शीर्षकमा उल्लेखित बजेटमा स्पष्ट उद्देश्य नखुलाई खर्च गरिँदा सार्वजनिक रकमको पारदर्शिता र जवाफदेहिता प्रति गम्भीर प्रश्न उठेको छ। विविध खर्चले आन्तरिक स्रोतको ४० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको पृष्ठभूमिमा, खर्चको औचित्यमाथि व्यापक शंका उत्पन्न भएको छ।

स्थानीय आर्थिक अनुशासनका दृष्टिले, यस्तो प्रवृत्तिले योजना कार्यान्वयनभन्दा बढी प्रशासनिक र आतिथ्य सत्कारमै रकम सकिएको देखिन्छ। सरोकारवालाहरूले खर्चको पारदर्शिता र कागजातको पूर्णता सुनिश्चित गर्न माग गरेका छन्।