सिरहा । लहान नगरपालिका–१ स्थित पशुपति आदर्श माध्यमिक विद्यालयले सटर भाडामा लगाएको भन्दै व्यापारीहरूसँग उठाएको करोडौं रकम भ्रष्टाचार भएको आरोपसँगै नेपाली काँग्रेसका नेता पद्मनारायण चौधरीलाई जोडेर बदनाम गराउन खोजिएको भन्दै नेपाल थारु संघले आपत्ति जनाएको छ।

संघका अध्यक्ष अजय कुमार चौधरीले आइतबार लहानमा पत्रकार सम्मेलन गर्दै नेता चौधरीमाथि गरिएको प्रचारप्रति आपत्ति जनाए। उनले विद्यालयले रकम उठाएको समयावधिमा चौधरी विद्यालय व्यवस्थापन समितिको अध्यक्ष नरहेको प्रष्ट पारे।

“केही सञ्चारमाध्यममार्फत विद्यालयका तत्कालीन प्रधानाध्यापक प्रमेश्वर साहको नाममा नेता चौधरीले चुनाव खर्चका लागि रकम लिएको भनेर समाचार सम्प्रेषण गरिएको छ, जुन सरासर झुटो हो,” अध्यक्ष चौधरीले भने।

उनका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो प्रकरणमा अनुसन्धान गरिसकेको छ भने अदालतबाट मुद्दा समेत टुंगो लागिसकेको अवस्थामा पुनः चौधरीलाई जोडेर समाचार सम्प्रेषण हुनु दुःखद छ।

अध्यक्ष चौधरीले अख्तियारको अनुसन्धानसम्बन्धी गोप्य पत्र लहान नगरपालिकाबाट बाहिरिएको (लिक भएको) आरोप पनि लगाए। सो विषयमा आवश्यक छानबिन गरी दोषीमाथि कारबाही गर्न उनले सम्बन्धित निकायसँग माग गरेका छन्।