नरेशचन्द्र बरबरिया, सिरहा, बैशाख २६ गते। सिरहा जिल्लाको नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण र शान्ति सुरक्षा सुनिश्चित गर्न सशस्त्र प्रहरी बल नेपाल र भारतीय सीमा सुरक्षा बल (एसएसबी) बीच संयुक्त गस्ती सुरु गरिएको छ।

सिरहा नगरपालिका–१७ माडरस्थित सीमा क्षेत्रमा दुवै देशका सुरक्षा निकायले तालमेल गर्दै संयुक्त गस्ती थालेका हुन्। सुरक्षाफौजको यस्तो सहकार्यले सीमावर्ती क्षेत्रमा अनावश्यक आवतजावत, तस्करी तथा आपराधिक गतिविधि नियन्त्रण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

सशस्त्र प्रहरीका अनुसार, हालै भारत–पाकिस्तानबीच बढ्दो तनावको असरस्वरूप नेपाल–भारत सीमामा पनि सुरक्षा सतर्कता बढाइएको हो। सीमावर्ती क्षेत्रमा नियमित गस्ती र निगरानीलाई थप सुदृढ बनाइएको जनाइएको छ।