सिरहा – सिरहाको लहान नगरपालिका–१७ स्थित बलान खोला नजिकबाट प्रहरीले भारी परिमाणमा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय लहान र प्रहरी चौकी लहानबाट खटिएको संयुक्त टोलीले सो क्षेत्रमा चेकजाँच गर्ने क्रममा लागुऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा लहान नगरपालिका–१५ का २१ वर्षीय सन्तोष यादव र लहान नगरपालिका–१६ का २२ वर्षीय जितेन्द्र यादव रहेका छन्।

प्रहरीका अनुसार सन्तोषले बोकेको बोराबाट ओनरेक्स १०० एमएलका १२० बोतल र जितेन्द्रले बोकेको बोराबाट पनि सोही परिमाणमा लागुऔषध बरामद गरिएको हो।

त्यसैगरी, उनीहरूले लुकाएका थप दुई बोरामा समेत चेकजाँच गर्दा एक बोराबाट ओनरेक्स ११३ बोतल र अर्को बोराबाट ९० बोतल गरी जम्मा २०३ बोतल फेला परेको प्रहरीले जनाएको छ।

यसरी गरी दुबैजनाबाट कूल ४४३ बोतल ओनरेक्स बरामद भएको हो।

पक्राउ परेका दुबै जनामाथि लागुऔषध सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। अनुसन्धानका लागि सिरहा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई इलाका प्रहरी कार्यालय लहानमा अनुसन्धान जारी रहेको डिएसपी बिरेन्द्र पासवानले जानकारी दिए।