सिराहा ।  जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेशका कतिपय नेताहरुलाई मधेश मुक्तिको प्रमुख बाधक भएको आरोप लगाएका छन्। सिरहाको गोलबजारमा सोमबारदेखि सुरु भएको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै यादवले मधेशमा आन्तरिक उपनिवेश अझै कायम रहेको बताए।

"मधेशमा आन्तरिक उपनिवेश छ," यादवले भने, "तर, जसले मधेशलाई उत्पीडनमा राखेका छन्, यहाँका कतिपय नेता उनीहरूकै गुलामी गर्दैछन्।"

उनले सरकारमाथि मधेश र मधेसी समुदायको अस्तित्व समाप्त पार्ने षड्यन्त्र गरेको आरोप लगाए। विशेषगरी भूमि अध्यादेशलाई उनले सो षड्यन्त्रको रुपमा चित्रित गरे। "सरकारले ल्याएको भूमि अध्यादेश मधेशी जनताको अधिकार खोस्ने योजना हो," यादवले भने, "तर कांग्रेस र एमालेमा रहेका मधेशी नेताहरू दास बनेर टुलुटुलु हेरे।"

उनले ती नेताहरूले व्यक्तिगत स्वार्थका लागि राष्ट्रिय दलहरूमाथि निर्भर रहँदै मधेशको पक्षमा बोल्न नसकेको आरोप लगाए। "तिनीहरू आफ्नो पद र लाभका लागि लड्न सक्दैनन्," यादवले भने।

त्यसैगरी, जसपाका प्रथम उपाध्यक्ष राजकिशोर यादवले पनि तीव्र आलोचना गर्दै मुलुकमा लोकतन्त्रको नाममा दलतन्त्र र दलतन्त्रको नाममा गिरोहतन्त्र चलेको बताए। "जनताले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरे पनि केही दलहरू यो प्रणालीलाई कमजोर बनाउने प्रयासमा छन्," उनले चेतावनी दिए।