सिरहा । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनका लागि दृढ अठोट बोकेर जनतालाई सेवा दिनुपर्ने बताएका छन्।

नेकपा एमाले सिरहाको ११ औं महाधिबेशनको उद्द्घाटन शत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको पहिलो अधिकार गरिबीबाट मुक्ति हुने भएकाले गरिबीका अगाडि अरु अधिकारको कुनै अर्थ नहुने स्पष्ट पारेका हुन्।
उनले विकास र समृद्धिको यात्रामा मिलेर अघि बढ्न आह्वान गरे। ‘सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था हाम्रो उपलब्धि हो। यो उपलब्धिलाई केवल राजनीतिक उपलब्धिका मात्रै होइन जनताको सङ्घर्षबाट प्राप्त भएको उपलब्धिका रुपमा लिनुपर्छ। त्यसकारण हाम्रा प्रयासहरु जनताको सेवामा समर्पित हुनुपर्छ। परिपूर्ण लोकतन्त्रका लागि हामीले काम गर्नुपर्छ।’,
प्रधानमन्त्री ओलीले भने, ‘जनताले परिवर्तनको उपलब्धि आफ्नो पेट, आफ्नो आङ र सन्ततिको हितमा खोज्छ। त्यसकारण हामीले जनताको जीवनमा लोकतन्त्र दिनुपर्छ। सम्पूर्ण सामाजिक जीवनमा लोकतन्त्र फुलाउनुपर्छ। त्यसका लागि समाजलाई विकास र सुशासनको गतिमा लानैपर्छ।’
प्रधानमन्त्री ओलीले मधेश प्रदेशको सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भाव अत्यन्त सुन्दर पक्ष भएको उल्लेख गरे। उनले अनुशासित, चेतनशील तथा विकासप्रेमी नागरिकले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमान कायम गर्न पुर्याएको योगदानको उच्च प्रशंसा गरे।