सिरहा, ७ चैत – सिरहा प्रहरीले जबरजस्ती करणी आरोपमा फरार रहेका एक युवकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय गोलबजारले स्थानीय व्यवसायी महेश साह (कोकवा)का २४ वर्षीय छोरा अजय साहलाई पक्राउ गरेको हो।
साहमाथि एक युवतीलाई विवाहको प्रलोभनमा ललाईफकाई पटक–पटक जबरजस्ती करणी गरेको आरोप लागेको छ। प्रहरी स्रोतका अनुसार, उनीमाथि मुद्दा दर्ता भएपछि फरार रहँदै आएका थिए।

आज बिहान प्रहरीले उनलाई गोलबजार–४ सातपत्रे खोलानजिकैबाट पक्राउ गरेको हो। प्रहरी देखेपछि भाग्ने क्रममा साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी रमेश पण्डितले साह पक्राउ परेको पुष्टि गर्दै विस्तृत जानकारी पछि सार्वजनिक गरिने बताए। ‘उनीमाथि जबरजस्ती करणीको आरोप छ। अनुसन्धान जारी छ, आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइनेछ,’ एसपी पण्डितले भने।
प्रहरीले साहलाई हिरासतमा राखी अनुसन्धान अघि बढाएको छ।