सिरहा — मिर्चैया नगरपालिकाले आर्थिक अभावका कारण कुनै पनि विद्यार्थीलाई माध्यमिक शिक्षा परीक्षा (एसईई) बाट वञ्चित गर्न नपाइने निर्देशन दिएको छ।

नगरपालिकाले बुधबार एक विज्ञप्ति जारी गर्दै नगर क्षेत्रका सबै विद्यालयलाई यस्तो निर्देशन दिएको हो। कतिपय विद्यालयले शुल्क नतिरेका विद्यार्थीलाई परीक्षाको प्रवेश पत्र दिन नमानेको गुनासो आएपछि नगरपालिकाले यस्तो निर्णय गरेको हो।

नगर प्रमुख श्रवण कुमार यादवले शिक्षा हरेक नागरिकको अधिकार भएकाले आर्थिक कारण देखाउँदै कसैलाई पनि परीक्षाबाट रोक्न नपाइने बताए। "पैसा तिरेन भन्दैमा परीक्षाबाट वञ्चित गर्न नपाइने कानुनी व्यवस्था छ। यदि कुनै विद्यालयले यस्तो बदमासी गर्छ भने कारबाही हुन्छ," उनले चेतावनी दिए।

नगरपालिकाले कुनै विद्यार्थीलाई प्रवेश पत्र नदिइएमा पनि उनीहरू परीक्षा केन्द्रमा जान सक्ने व्यवस्था मिलाएको छ। "विद्यालयले प्रवेश पत्र नदिए पनि विद्यार्थी परीक्षा केन्द्रमा जान सक्नेछन्। केन्द्राध्यक्षलाई जानकारी गराएपछि परीक्षा दिन पाइनेछ," नगर प्रमुख यादवले जानकारी दिए।

नगरपालिकाले यस्तो अवस्था आएमा सम्बन्धित विद्यालयलाई कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ।

एसईई परीक्षा बिहीबार बिहानदेखि सुरु हुँदैछ।