जनकपुरधाम – पर्साको वीरगञ्जस्थित जिल्ला प्रशासन कार्यालय (सिडिओ अफिस)मा मिटरब्याज पीडितले आत्मदाहको प्रयास गरेका छन्। बाराको पचरौता नगरपालिका–४ का ६० वर्षीय बृजकिशोर प्रसाद साहले प्रशासन कार्यालयमै विष सेवन गर्नुका साथै शरीरमा पेट्रोल छर्केर आत्मदाह गर्न खोजेका हुन्।
साहले न्याय नपाएको गुनासो गर्दै आत्मदाहको प्रयास गर्दा सशस्त्र प्रहरीले उनलाई रोक्न सफल भएका थिए। तत्काल उद्धार गरी नारायणी अस्पताल पुर्याइएको र हाल उनको अवस्था खतरामुक्त रहेको प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालले जानकारी दिए।

घटनास्थलमा साहले लेखेको एउटा पत्र भेटिएको छ, जसमा उनले आफूले १ लाख ५० हजार रुपैयाँ ऋण लिएर ६ लाख मूल्य बराबरको जग्गा अरूको नाममा पास गराएको उल्लेख गरेका छन्। तर जब उनले पैसा तिर्न खोजे, ऋणदाता (मिटरब्याजी) ले जग्गा फिर्ता गर्न आनाकानी गरिरहेको तथा प्रहरी प्रशासन पनि उनीहरूको पक्षमा रहेको आरोप पत्रमा उल्लेख छ।
मिटरब्याज पीडितका निरन्तर आत्मदाह प्रयास
नेपालमा मिटरब्याज पीडितहरूको समस्या बढ्दै गएको छ। यसअघि पनि देशका विभिन्न स्थानमा ऋणको चक्रव्यूहमा फसेका पीडितहरूले आत्मदाहको प्रयास गरेका घटना सार्वजनिक भइसकेका छन्। राज्यले मिटरब्याज पीडितको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएको भए पनि व्यवहारमा समस्या जटिल बन्दै गएको देखिन्छ।
पिडकलाई कारबाही गर्ने र पीडितलाई न्याय दिलाउने विषयमा प्रशासनले के कदम चाल्ने भन्ने विषयमा सबैको चासो रहेको छ।