सप्तरी । जिल्ला प्रहरी कार्यालय सप्तरीले साहुको पैसा लुकाउन लुटपाटको नाटक गर्ने एकजना बोलेरो चालकलाई पक्राउ गरेको छ ।वीरगन्ज महानगरपालिका वडा नम्बर २१ बस्ने २६ वर्षीय समसुद्दीन आलमलाई ठगी, आपराधिक विश्वासघात, र झुटो सूचना दिएर अफवाह फैलाएको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।पुस २२ गते साँझ ७ बजे आलम र सहचालक बाराको कलैया उपमहानगरपालिका ७ का २४ वर्षीय अमिर श्रेष्ठसहित बोइलर कुखुरा ल्याउन वीरगन्जबाट राजविराज आउँदै थिए ।
सोही क्रममा रुपनी गाउँपालिका वडा नम्बर १ स्थित राजविराज–रुपनी सडक खण्ड अन्तर्गतको रायपुरमा दुईवटा मोटरसाइकलमा आएका चार हतियारधारीले गाडी रोकेर गाडीको साँचो सहित ३ लाख ८० हजार लुटेर लगेको घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए ।सप्तरी प्रहरी घटनास्थलमा पुगेर जाँच गर्दा गाडीको साँचो त्यही फेला परेको थियो ।अनुसन्धान गर्दै जाँदा बोल्न र सुन्न नसक्ने बोलेरोका सहचालक श्रेष्ठले इसारामार्फत आलमले पैसा आफ्नो घरमा लुकाएको संकेत गरेपछि प्रहरी वीरगन्जस्थित आलमको घरबाट ३ लाख ८० हजार फेला पारेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।उनले आलमले साहुबाट कुखुरा खरिदका लागि दिएको रकमका लागि लुटपाटको नाटक गरेको स्वीकार गरेको बताए ।पक्राउ परेका आलममाथि ठगी, आपराधिक विश्वासघात, र झुठा सूचना फैलाएको अभियोगमा अनुसन्धान थालिएको छ ।प्रहरी उपरीक्षक खतिवडाका अनुसार आलमलाई सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अगाडी बढाइएको छ ।




















