सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाबाट ६ जना बिचौलिया पक्राउ परेका छन्। सेवाग्राहीलाई अनावश्यक हैरानी गराउँदै कार्यालय मुख्य गेटमै बसेर काम गराइदिने बहानामा रकम असुली गर्दै आइरहेको गुनासो पछि प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी बिरेन्द्र पासमानका अनुसार विशेष सूचनाका आधारमा प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेका बिचौलियाहरू नागरिकता, राहदानी, सिफारिसलगायतका प्रशासनिक कार्य छिटो गराइदिने नाममा सेवाग्राहीसँग 'फास्ट ट्र्याक' सेवा उपलब्ध गराउने भन्दै रकम असुल्दै आएका थिए। उनीहरू लामो समयदेखि सेवाग्राहीलाई अनावश्यक हैरानी गर्दै आएको गुनासोपछि प्रहरीले निगरानी बढाएको थियो।

जिल्ला प्रहरी कार्यालय सिरहाले उनीहरूलाई पहिलोपटक सम्झाइ बुझाइ छोडिएको जनाएको छ। प्रहरीका अनुसार यस्ता गतिविधि दोहोरिए थप कडा कारबाही गरिनेछ। प्रशासनिक सेवा सहज र पारदर्शी बनाउन प्रहरीको निगरानी अझै कडा बनाइने पनि डिएसपी पासमानले बताएका छन्।