सर्लाही :एउटै महाजन, २९९ ऋणी, मनपरी तमकसुक बनाएर पीडा दिँदै अशुली

  • प्रकाशित मितिः भदौ १५, २०७६
  • ९० पटक पढिएको
  • मिथिला रत्न
alt

काठमाडौं, भदौ १५ गते ।

एकपटक ऋण दिए पनि पटक–पटक ऋण दिएको कागज गराउँदै ठगेको भन्दै सर्लाहीका विपन्न थारू र मधेसी समुदयाका करिब एक सय ५० जनाको समूह न्याय खोज्दै काठमाडौं आएको छ । सर्लाही मलंगवा–४ का श्यामकृष्ण साह कलवार (श्याम परदेशी)ले सुरुमा दिएको ऋणको ब्याज बुझाउन जाँदा उल्टै अर्कोपटक ऋण दिएको नक्कली कागज बनाएर ठगेको उनीहरूको आरोप छ । एउटै मान्छेको नाममा ऋण दिइएको कानुनी कागज गर्न नमिल्ने भएकाले परदेशीले आफ्ना परिवारका सदस्यका नाममा ऋणीहरूलाई सातवटासम्म कागज गराएको उनीहरूले बताए ।  यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ ।

परदेशीका ऋणीहरूको समूहले राजनीतिक दलका नेता र मिडियामा पुगेर न्यायका लागि याचना गरेका छन् । शनिबार नयाँ पत्रिका दैनिकको कार्यालयमा आएको पीडित समूहले परदेशीको ठगी र अत्याचारमा स्थानीय प्रशासन र अदालतले समेत सहयोग पुर्‍याएको आरोप लगाए । कानुनले तोकेभन्दा १० गुणासम्म बढी ब्याज तिराउने गरी झुक्याएर फरक–फरक साहुको नाममा कागज गराएर परदेशीले पैसा असुल्दै आएको पीडितहरूको दाबी छ । उनीहरूका अनुसार ०७२ को नाकाबन्दीपछि परदेशीबाट ऋण लिएका दुई सय ९९ जना यसरी ठगिएका छन् । पीडितहरूका अनुसार परदेशीले जिल्ला अदालत सर्लाहीमा हालेको मुद्दाबाट १९ जनालाई कैद सुनाइएको छ । करिब ५० जनाको नाममा मुद्दा चलिरहेको छ । 

एक सातायता उनीहरूले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेलसहित शीर्ष नेता र सांसदहरूलाई भेटेर परदेशीलाई कानुनी कठघरामा उभ्याई आफूहरूलाई न्याय दिलाउन ध्यानाकर्षणसमेत गराएका छन् । करिब एक महिनाअघि नेकपाकै वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर उनीहरूले न्यायका लागि पहल गरिदिन ध्यानाकर्षण गराएका थिए । पछिल्लोपटक प्रवक्ता श्रेष्ठले पीडितहरूलाई न्याय दिलाउने अभियानको नेतृत्व लिएका छन् । 

ऋण लिएका दुई सय ९९ जनामध्ये एक सय ५० जनाको समूहले रुक्मिणी चौधरीको नेतृत्वमा ‘श्याम परदेशी पीडित संघर्ष समिति’को नाममा संगठित भएर आन्दोलन सुरु गरेको छ । उनीहरूले ११ भदौबाट काठमाडौंको माइतीघर मण्डलामा संघर्ष सुरु गरेका छन् । परदेशीबाट एक करोड नौ लाख ५१ हजार लिएकोमा एक सय ५० जनाको समूहले अहिलेसम्म एक करोड ४७ लाख चार हजार विभिन्न समयमा बुझाइसकेको दाबी गरेको छ । तर, परदेशीले भने सात करोडभन्दा माथि दाबी गर्दै ७० जनाभन्दा बढीलाई ठगीमा अदालतमा मुद्दा दायर गरेका छन् । तीमध्ये तीनजना जेलमा परिसकेको पीडितहरूको भनाइ छ । कतिपयको घरवासै उठ्नेगरी परदेशीले जग्गा हडपेको, गरगहनै लुटिएको, झुक्याएर कागज गराई पैसा नबुझाउने महिलामाथि हातपात गरेर बलात्कारको प्रयास गरेको उनीहरूको आरोप छ । 

पीडित समूहले छानबिन आयोग बनाई विषयको सत्यतथ्य छानिबन गर्न, परदेशीमाथि किर्ते जालसाजी, ठगीलगायतको मुद्दा चलाउने व्यवस्था गर्न माग गरेको छ । त्यस्तै, ऋण लगानीको यति ठूलो रकम तथा परदेशीसहित उनका आफन्तको स्वामित्वमा रहेको जायजेथा खोजबिन गरी सम्पत्ति शुद्धीकरण, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायमार्फत कारबाही चलाउन पनि माग गरेको छ । 

‘ऋण तिर्न नसक्दा एकजनाले गरे आत्महत्या’ 
ऋण तिर्न नसक्दा लालबन्दी ३ सिसुवाकी दुर्गादेवी चौधरीले आत्महत्या गरेकी छिन् । श्याम परदेशीले ब्याजको स्याज जोडेर चर्को रकम लिने कागज बनाएपछि चौधरीले आत्महत्या गरेको संघर्ष समितिको दाबी छ । यस्तै लालबन्दी–७ कै राजवीर चौधरी र सावित्री कापर उच्च प्रेसरले मृत्यु भए पनि ऋणकै कारण मृत्यु भएको दाबी गरेका छन् ।

रक्सी, बियर, मासु खर्च कटाएर १० गुणासम्म ऋणको कागज गराइएको छ 
डाचाराज वाग्ले, 
नेकपा जिल्ला इन्चार्ज, सर्लाही 

श्याम परदेशीको बाबुको पाला– ०३५ सालदेखि नै उनीहरूले ऋण लगानी गर्दै आएका थिए । यो घटनाचाहिँ ०७२ पछिको हो । नाकाबन्दीका वेला वित्तीय संस्थाले ऋण लगानी गरेनन्, बैंकमै राखेको पैसा पनि चाहेजति निकाल्ने स्थिति बनेन । गाउँघरमा ऋणको चलन थियो, ऋण लिने मान्छेहरू परदेशीकहाँ ठोक्किए । यद्यपि, त्यसअघि पनि उनीबाट ऋण लिनेहरूको बिल्लीबाठ भएकै थियो । तर, ०७२ पछि ठूलो संख्या थपिएको मात्र हो । 

तराईमा एकको तीन अर्थात् एक लाख लिँदा तीन लाख रुपैयाँसम्म बुझाउने गरी ऋण तिर्नेगरी कागज गर्ने अझै चलन छ । चलनचल्तीको ब्याज लिने भन्ने, तर तलचाहिँ वास्तविक कारोबार एक लाख रुपैयाँ मात्र हो भनेर खुलाइन्छ । ऋण दिएदेखि कागज च्यातिदिने, तलमाथि गर्‍यो भने तल लेखेको कुरा राखेर अदालतमा मुद्दा दर्ता गर्ने गर्छ । तर, परदेशीले चाहिँ जतिसक्दो बढीभन्दा बढीको कागज गरे । बाठो व्यक्ति छ भने एक लाख लिएकोलाई १० हजार, अलि सोझो छ भने २३ हजारसम्म सेवाशुल्क लिने । त्यसबाट लेखनदास खर्च, रक्सी, मासु बियर खर्च कटाएर ऋण दिने, कागज १० गुणासम्मको गराउने । ब्याज तिर्न जाने परिवारको अर्को मान्छेलाई पनि कागज गराइएको छ, जबकि ऋणीलाई अदालतबाट पक्राउ पुर्जी जारी भएपछि मात्र थाहा भयो । 

कतिपयलाई ऋण बुझाउन जाँदा १२/१३ वर्षको महिला ल्याइदेउ, अनि म तिम्रो कागज च्यातिदिन्छु सम्म भनेको महिलाहरू यहीँ पनि हुनुहुन्छ । तीन/चार सय वर्षअघि सामन्तले गर्ने शोषण अहिले सर्लाहीमा भएको छ । उनले छोरा, श्रीमती, छोरी, ज्वाइँलगायत सातजनासम्म धनी खडा गरेर कागज गराएका छन् ।

बलात्कार प्रयासको अभियोगमा थुनिएका परदेशी, बयान परिवर्तन गराएर छुटे
कमल बुढाथोकी, पीडितका सहयोगी 
सर्लाहीका लालबन्दी, हरिपुर, ईश्वरपुर र कविलासीका विशेषतः थारू समुदायका विपन्नलाई परदेशीले ऋण दिएका छन् । थोरै ऋणीहरू रौतहट र महोत्तरीमा छन् । मासिक सयकडा पाँच, वार्षिक सयकडा ६० । ब्याज महिनाको १ गते बुझाउन नजाँदा लाखको एक हजार हर्जाना तिर्नुपर्ने । हाँस, लोकल कुखुरा, परेवा, चामल, तोरी कोसेली लिइएको छ । महिलाहरूमाथि हातपातको घटना भएको छ । 

फागुनतिरको घटना हो । १२–१३ वर्षको बालिकालाई बलात्कारको प्रयास गरेपछि अदालतमा मुद्दा चल्यो, परदेशी पुर्पक्षका लागि थुनामा परे । तर, ती बालिकाको आमालाई बोलाएर कागज च्यातिदिए, एक–डेढ लाख दिएपछि ती बालिकाले पनि बयान परिवर्तन गरिन्, त्यसपछि उनी अदालतबाट छुटे ।

१४ वर्षीय किशोरसँग २० लाखको तमसुक, अदालतबाट पुर्जी

विनादेवी चौधरी, 
लालबन्दी–५, सर्लाही

छोराबुहारी विदेश पठाउन पाँच लाख लिएको थिएँ । पटक–पटक गरेर नौ लाख पैसा तिरेँ । एकपटक उसले मेरो छोरी सीतामढी बस्छे, तिम्रो छोरा सामान पुर्‍याएर फर्किन्छ पठाइदेऊ भन्यो । मैले छोरा इन्डिया जाँदैन भनेँ । छिमेकी भाइले घर देखेको छ, सँगै लिएर जान्छ भनेपछि छोरा पनि जान तयार भयो । घरबाट १० बजे हिँडेको छोरो १२ बजे मलंगवाबाट फर्कियो । मलंगवामै तिम्रो ममीले ऋण लिएको छ भनेर कागजमा जबर्जस्ती हस्ताक्षर गर्न लगाइएछ । १४ वर्षको छोरो (ऋण लिँदाको उमेर)ले २० लाखको कागज गरेकाले अहिले उसलाई अदालतले पक्राउ पुर्जी काटेको छ । 

साढे २ लाखको ऋणमा ९० लाखको तमसुक : रिनादेवी साह, हरिपुर, सर्लाही

श्रीमान् विदेश जाँदा दुई लाख ९० हजार ऋण लिएको थिएँ । सुरुमै ३० हजार सेवा शुल्क काटेर दुई लाख ६० हजार दियो, हामीले साढे चार लाख ब्याजसहित बुझाइसक्यौँ । तर, ऋण लिएको कागज पनि दिइएन, पछि माग्न जाँदा महाजनले (श्याम परदेशी)ले १२ वर्षकी केटी नल्याए कागज दिन्नँ भन्यो । दिदी ब्याज बुझाउन जाँदा पाँच लाखको अर्को कागज पनि झुक्याएर बनाइएको रहेछ । श्रीमान्, दिदी, सासू र मसहित चारजनासँग ब्याज बुझाउन जाँदा सात तमसुक गराइएको रहेछ । अहिले एकमुष्ट ९० लाख तिनुपर्ने कागजबाट देखिएको छ । 

साढे चार लाख लिएको २४ लाखको कागज बनाइएको रहेछ : रुकमणि चौधरी
पहिलो ऋणी नै म हुँ । लालपुर्जा धितो राखेर पैसा लिन गएँ । उहाँले लालपुर्जा नलिएर कागज बनाएर खुरुक्क एक लाख रुपैयाँ दिनुभयो । त्यसमा सेवाशुल्क केही काट्नुभएन । मैले महिनामा पाँच हजारका दरले सबै तिरेँ । मेरो यही काठमाडौं थसीखेलमै सिलाइकटाईको पसल थियो । छोरालाई विदेश पठाउनुपर्ने भएकाले थप ऋण चाहिने भएपछि ६ लाख मागे । उहाँले बुढाबुढी नै आउनू भनेपछि गयौँ । तर, पहिलाको चुक्ता गरेपछि मात्रै दिने भनियो । हामीलाई पैसा चाहिएकाले जति छ दिनुस् भन्यौँ । उहाँले अहिले यति छ भनेर चार लाख ५० हजार दिनुभयो । त्यो पैसाको रक्सी मासु खान भनेर ४५ हजार सेवाशुल्क लिनुभयो । अहिले मेरो नाममा १२ लाख श्रीमान्को नाममा १२ लाख गरी २४ लाखको कागज बनाइएको रहेछ । 

मैले ‘अंकल त्यो एक लाखको कागज च्यात्नुभयो’ भन्दा च्यातिसकेँ भन्नुभयो । मैले उहाँलाई प्रत्येक महिना साढे २२ हजार रुपैयाँका दरले १० महिनासम्म बुझाएकी थिएँ । एक दिन साँझ महाजनले फोन गरेर पैसा माग्नुभयो ५० हजार रुपैयाँ दिएकी थिएँ । दोस्रो पटक पनि त्यसरी नै ५० हजार बुझाएँ । अति भएपछि महाजन हामीमाथि अन्याय भयो भनेर पटक–पटक भन्यौँ । तर, सुन्नुभएन । त्यो लेखेको कागज लगेर के गर्छौ भन्दै च्यात्न पनि मान्नु भएन । 

अदालतले उल्टै महाजनकै पक्षमा फैसला गर्‍यो  : फतिमा खातुन, लालबन्दी–१, सर्लाही
मैले एक लाख रुपैयाँ ऋण लिएँ । सेवाशुल्क भनेर २३ हजार काट्नुभयो । प्रत्येक महिना १० हजार रुपैयाँले सबै तिरेँ । महाजनले मेरो र छोराको नाममा चार लाखको कागज बनाउनुभएको छ । अदालतमा मुद्दा हालेँ । अदालतले उल्टै साहुको पक्षमा फौसला गर्‍यो ।

कतिको तमसुक बनाइयो, कति तिर्नुपर्ने हो अझै थाहा छैन
पारोदेवी चौधरी, लालबन्दी–४, सर्लाही 
मैले दुई लाख रुपैयाँ ऋण लिएँ । एक वर्षमा १० हजार रुपैयाँ तिरेँ । दोस्रोपटक ५० हजार, तेस्रोपटक दुई लाख, चौथोपटक एक लाख अन्तिममा २५ हजार रुपैयाँ तिरे । रुँदै … मेरो एक तोला सुनलगायत चाँदीका गरगहना पनि बुझाएँ । तीनवटा कागज बनाइएको रहेछ । कति पैसाको तमसुक बनाइयो, कति तिर्नुपर्ने हो अझै थाहा छैन ।

१२ जनाको नाममा एक करोडको कागज बनाइएछ 
सावित्री चौधरी, लालबन्दी–५, सर्लाही 

मेरो श्रीमान्ले सात लाख ऋण लिनुभएको थियो । परिवारका १२ जनाको नाममा एक करोडको कागज बनाइयो । 

बन्दुक देखाएपछि सहीछाप लगाइदिएँ 
सोन्फी चौधरी, लालबन्दी–४, सर्लाही
मैले श्याम परदेशीसँग ५० हजार रुपैयाँ लिएको थिएँ । ९० हजार तिरें । मेरो कागज च्यात्नुस् भनेको थिएँ । त्यो कागज सितामढी छोरीको घरमा छ, दुई–चार महिनापछि आउँछ भन्नुभयो । धेरै दिन धाएपछि घरमा बोलाउनुभयो । बसालेर चिया खुवाउनुभयो । लेखनदासले कागज तयार भयो भनेर महाजनलाई दियो । महाजनले यसमा सही गर्नुस् भन्नुभयो । मैले किन सही गर्ने भनेँ । दुई घन्टासम्म विवाद भो, बन्दुक देखाइयो, तानातान भयो । अन्त्यमा बाध्य भएर पाँच लाखको छाप लगाएर फर्किएँ । अहिले सुन्दै छु, अर्को १० लाखको कागज छ रे । त्यही नाममा अदालतबाट पक्राउ पुर्जी जारी भएकाले अहिले भागीभागी हिँडिरहेको छु । 

प्रतिक्रिया दिनुहोस

एकै दिन १७ ग्राहकसँग शारीरिक सम्वन्ध

काठमाडौंँ उपत्यकामा सञ्चालित रात्रिकालीन मनोरञ्जन क्षेत्रमा कार्यरत एक महिला श्रमिकले प्रतिदिन १७ जना ग्राहकसँग शारीरिक सम्वन्ध राख्ने गरेको पाइएको छ। काठमाडौं महानगरपालिका वडा नम्वर–३२ कोटेश्वर क्षेत्रमा सञ्चालित होटल, गेष्टहाउस, डान्स, दोहोरी, क्याविन र खाजाघरमा कार्यरत

साना किसान बिष्णुपुरको अध्यक्षमा उप स्भापत

सिराहा। साना किसान सहकारी संस्था बिष्णुपुरको अध्यक्ष पदमा सिरहा जिल्ला समन्वय समितिका उपसभापति सरोज यादव विजय भएको छ । अध्यक्ष पदमा विजय हासिल गर्न सफल भएको उपसभापति यादव आफ्ना प्रतिद्धन्दी भोगेन्द्र प्रसाद यादवलाई ६ मतले पछाडी पार्दै जित सफल पारेका थिए । अध्यक्ष यादवले जम्मा ६६५


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved