सिरहा । सिरहामा दाइ–भाइ मिलेर ग्राहकहरूको लाखौं रुपैयाँ बराबरको सुनचाँदी लिएर फरार भएको घटनाले स्थानीय बजारमा तरङ्ग पैदा गरेको छ। घटनापछि पीडितहरूले सम्बन्धित प्रहरी कार्यालयमा उजुरी दर्ता गरी कारबाहीको माग गरेका छन्।
स्रोतका अनुसार सिरहाको बिष्णुपुरस्थित बैस्ण्बी ज्वेलर्स र कल्याणपुर नगरपालिकाको चिकनामा रहेको गहना ज्वेलर्सका सञ्चालक राकेश साह (दाइ) उर्फ पप्पु को मिलोमतोमा उनका भाइ सञ्जीव साह दर्जनौँ ग्राहकको सुनचाँदी लिएर फरार भएका हुन्।
पीडितहरूले सुनचाँदी बन्धकमा राखी रकम लेनदेन गर्ने क्रममा ठगी भएको बताएका छन्। उनीहरूका अनुसार सञ्जीव साहले आफू दाइको पसलको साझेदार भएको दाबी गर्दै ठूलो परिमाणमा कारोबार गर्थे। तर पछिल्ला केही दिनयता सम्पर्कविहीन भएपछि ठगी भएको प्रमाणित हुन थालेको हो।
एक पीडितले भने, “हामीले जब कारोबार गर्यौँ, उनले भने — मेरो दाइको चिकनामा ठूलो ज्वेलर्स छ, म भाग्दिन। त्यसैमा भरोसा गरेर कारोबार गर्यौँ। अहिले त सम्पर्क नै छैन।”
भाइ फरार भएपछि पीडितहरूले दाइ राकेश साहलाई खोज्न गए पनि उनले उल्टै हप्काएको र आफू सञ्जीव साहको दाइ नभएको दाबी गरेको आरोप लगाएका छन्। पीडितका अनुसार उनले, “मेरो कुनै भाइ छैन, म भारतको होइन, मेरो घर सप्तरीको चकबा कल्याणपुर हो,” भन्दै झूटो परिचय दिएका थिए।
तर, एक विश्वसनीय स्रोतका अनुसार राकेश साह वास्तवमा भारतको सुपौल जिल्लाका योगेन्द्र साहका छोरा हुन्। उनले श्रीमतीको कुमारी नागरिकता प्रयोग गरी प्यान नम्बर बनाइ ‘गहना ज्वेलर्स’ सञ्चालन गर्दै आएको खुलेको छ।
स्थानीयहरूले भने, “भाइ फरार भए, दाइ पनि भाग्ने होइन भन्ने ग्यारेन्टी के छ ? यस्ता ठूला कारोबारमा समेत प्रहरी र सम्बन्धित निकाय मौन रहनु दुर्भाग्य हो,” भन्दै आक्रोश व्यक्त गरेका छन्।
प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान सुरु गरेको र फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको जनाएको छ। पीडितहरूले ठगीमा संलग्न दुवै दाइ–भाइमाथि कडा कारबाही र क्षतिपूर्ति दिलाउने माग गरेका छन्। ठगिएका सुनचान्दी परिणाम र पीडितहरुको नामाबलि यसप्रकार छन ।
राम कुमारी महरा - २.५ आना सोना
रिना कुमारी महारा -आठ आना
प्रम देबि महरा ४ आना सोना चुरी चान्दी ६ आन
भरत यादब ४० भैर कारा
रुपेस यादब - ४० भैर काडा ७ आना सोना
सुनिता राम -४ आना सोना
राजबती महतो -१२ आना सोना ५० भैर चान्दी
फुल कुमारी महतो २५ भैर कारा
जानकि देबि यादब ५ आना सोना
रुन्ची देबि १० आना सोना
फुल कुमारी महतो गौरिपुर ३० भैर हौसलि
इन्दिला यादब- ७ आना सोना
जितन यादब- ८ आना




















